Tuesday, May 12, 2026
spot_img
Homeराजनीतिनिर्वाचित सामन्त युगको अन्त्य !

निर्वाचित सामन्त युगको अन्त्य !

  • भरतविक्रम ढकाल

भ्रष्टाचारीहरूलाई जोगाउन रातारात गठन भएको काङ्ग्रेस-एमाले गठबन्धन सरकारको नेतृत्व गरेका निर्वाचित सामन्त केपी शर्मा ओलीको पुरानो युगको अन्त्य भएको छ।

भदौ २३ (सोमबारबाट) सुरु भएको नयाँ पुस्ता जेन जी आन्दोलनका कारण यो परिस्थिति उत्पन्न भएको हो। नेपालको इतिहासमा भएका आन्दोलनमध्ये एकै दिन कम्तीमा २० जना स्कुल, कलेजका विद्यार्थीको प्रहरीको गोलीबाट मृत्यु भएको पहिलो घटना हो। यो दिन नेपालको इतिहासमा कालो दिन हो भने केपी ओली शेरबहादुर देउवा र प्रचण्डको युगको अन्त्यले नेपालको नयाँ युगको सुरुवात पनि हो। मङ्गलबार प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएका छन्। उनको राजीनामापछि यो सरकार औपचारिक रुपमा विघटन भएको छ।

निर्वाचित सामन्त इतिहासमा सबैभन्दा निर्मम हुने भएकाले केपी शर्मा ओली नेतृत्वको सरकारले स्कुल, कलेज पढ्दै गरेका नयाँ पुस्ताको आन्दोलनमा गोली बर्साउँदा यो परिणाम उत्पन्न भएको छ। सामाजिक सञ्जाल बन्द र नेपालको चरम भ्रष्टाचार, अनियमितता र राजनीतिक गुण्डागर्दी उत्कर्षमा पुगेपछि सुरु भएको आन्दोलन हिंसात्मक बनेपछि परिस्थिति सुरक्षाकर्मीको नियन्त्रण बाहिर जान पुग्यो। जेएनजी पुस्ताले संसद् भवन, ओली, देउवा, प्रचण्ड, रमेश लेखक, गगन थापा, राष्ट्रपति रामचन्द्र पौडेलको निवासलगायतका घर र कार्यालयमा आग्जनी गरेका छन्।

कैयौँ सरकारी भवनमा समेत आग्जनी गरिएको छ। आन्दोलनको अर्को दिन मंगलबार आन्दोलनले उग्ररूप लिँदै जाँदा थप मानवीय क्षति भएको छ। विस्तृत विवरण आउन बाँकी छ। यो दिन भौतिक रुपमा समेत निकै ठूलो क्षति भएको छ । गरिबका छोराछोरी खाडीमा काम गर्छन्। नेता र उनका छोराछोरी भ्रष्टाचार गरेको रकममा महंगा गाडीमा हुइकिन्छन् । नेपालमा भ्रष्टाचार यतिसम्म पुगेको छ कि राजनीतिक दलको झोले बन्न नसक्नेहरुले यो देशमा काम गरी खाने वातावरण समेत थिएन र छैन। देशको यो अवस्थाले चरम रुप लिएपछि उत्पन्न भएको यो आक्रोशले राजनीतिक दलका भ्रष्टाचारी नेता बढारिने सम्भावना बढेको छ।

काठमाडौँ उपत्यकासहित विराटनगर, बीरगञ्ज, इटहरी, झापा, नेपालगञ्ज, सुर्खेत, महेन्द्रनगर, धनगढीलगायत देशका मुख्य सहरमा भएको नयाँ पुस्ताको आन्दोलनले देशमा नयाँ युगको आरम्भ गर्ने ढोका खोलेको छ। आततायी ढंगले प्रस्तुत भएपछि यसको परिणाम राज्यले बेहोरेको यो पहिलो घटना हो। यस किसिमको आन्दोलन गत वर्ष बङ्गलादेशमा भएको र त्यो आन्दोलनले सत्ता परिवर्तन गरेको थियो। नेपालमा राजाले समेत सहज रुपमा सत्ता छोडे। २०६२/०६३ को १९ दिने आन्दोलनमा पनि यति धेरै ठूलो मानवीय र भौतिक क्षति भएन। तर यो नयाँ पुस्ताको आन्दोलनका विरुद्ध राज्यको निर्मम व्यवहारको परिणाम देखिएको छ। अबका दिनमा यो आन्दोलनको अवतरण कसरी हुन्छ, त्यो हेर्न बाँकी छ। यो आन्दोलनको माग उचित भए पनि भौतिक क्षति कम गर्नु राम्रो हो। देशमा थप अस्थिरता नबढोस् भनेर  सावधानीपूर्वक राजनीतिक कदम चाल्नुको विकल्प छैन।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments