Tuesday, May 12, 2026
spot_img
Homeराजनीतिजेनजी समर्थकको प्रदर्शन जारी

जेनजी समर्थकको प्रदर्शन जारी

– राष्ट्रपतिदेखि पार्टी कार्यालयसम्म आक्रमण

– मन्त्रीदेखि सांसदसम्मको राजीनामा

– बेलैमा सचेत नुहुनको परिणाम भोग्दै प्रमुख राजनीतिक दलका प्रमुख नेताहरु

सेवासञ्चार
काठमाडौं, २४ भाद्र

जेनजीको हिजो भएको प्रदर्शनमा प्रहरी दमनको विरोधमा आज सडकमा उत्रिएका समर्थकहरुले प्रदर्शनलाई तीव्रता दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवासदेखि विभिन्न पार्टीका प्रभावशाली नेताका घरमा तोडफोड र आगजनी भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा तोडफोडका साथै आगजनी भएको छ । त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा पनि तोडफोड र आगजनी भएको छ । नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको निजी निवास भैंसेपाटी, नेकपा समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका कोटेश्वरस्थित निवास, नेकपा समाजवादीका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको डल्लु आवासस्थित निजी निवासमा तोडफोडपछि आगजनी भएको छ ।

गृहमन्त्री रमेश लेखक, एमाले नेता रघुवीर महासेठ, नेपाली कांग्रेसका नेता गगन थापाका निजी निवासमा पनि तोडफोडपछि आगजनी भएका समाचार आएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काको निजी निवासमा तोडफोडका साथै आगजनी भएको छ भने तोडफोडका क्रममा ठूलो मात्रामा पैसा (डलरसमेत) उडेको स्पष्ट देख्न सकिन्छ ।

यसैबीच सरकारको प्रमुख समर्थक नेपाली कांग्रेसका मन्त्रीहरुलाई राजीनामा दिन कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आग्रह गरिसकेका छन् भने स्वास्थ्यमन्त्री प्रदीप पौडेल र कृषि तथा पशुपंछी मन्त्री रामनाथ अधिकारीले राजीनामा दिइसकेका छन् । त्यस्तै स्वास्थ्य मन्त्री प्रदीप यादवले पनि राजीनामा दिइसकेका छन् ।

यसैगरी मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार यादवले पदबाट राजीनामा दिएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले राजीनामा दिने तयारी गरिरहेका छन् ।

मुलुकमा जेजस्तो परिस्थिति देखापरेको छ त्यसमा प्रमुख राजनीतिक दलका नेताले बेलैमा सचेत नहुनुको परिणाम रहेको विश्लेषकको तर्क छ । भ्रष्टाचार भइरहँदा पनि ‘कहाँ छ भ्रष्टाचार मैले त देखिँन’ भन्ने प्रधानमन्त्रीको गैरजिम्मेवारीपूर्ण व्यवहार अनि सत्ताकै लागि (मन्त्री वा अन्य उच्च पदसमेत) ठूलो रकमको मोलमोलाइ हुने खुल्लमखुला प्रवृत्तिले आजको स्थिति ल्याएकोमा कसैको दुईमत छैन ।

प्रदर्शनकारी यसै चुप लाग्ने स्थितिमा छैनन् । अझै पनि प्रधानमन्त्री तथा प्रमुख दलका नेताहरुले बुद्धि र विवेकको प्रयोग गरी उचित निर्णय लिन नसक्ने हो भने यो व्यवस्थाकै अन्त्य हुनेमा अब शंका रहेन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments