Monday, September 15, 2025
spot_img
Homeराष्ट्रियप्रधानमन्त्री ओली भोलि चीन जाने

प्रधानमन्त्री ओली भोलि चीन जाने

सेवासञ्चार
काठमाडौं, १३ भाद्र

प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि भाद्र १४ गते शनिबार चीन भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्री ओली उक्त शिखर सम्मेलन तथा चीनको जनयुद्धमार्फत जापानी आक्रमणविरुद्धको प्रतिरोध र विश्व फासीवाद विरोधी युद्धमा विजयको ८०औं वार्षिकोत्सवमा सहभागिता जनाउन चीनतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रधानमन्त्री ओलले चीनका राष्ट्रपति सी चिनफिङसँग तिआन्जिनमा भेटवार्ता गर्नेछन् । उनले भाद्र १६ गते (सेप्टेम्बर १) तिआन्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् । सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँगसमेत भेटवार्ता गर्नेछन् । त्यसैगरी, प्रधानमन्त्री ओलीले भाद्र १६ गते (सेप्टेम्बर २) बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री ओलीले भाद्र १७ गते (सेप्टेम्बर ३) बेइजिङमा आयोजना हुने जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासिवादविरोधी युद्धमा विजयको ८०औं वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागिता जनाउनेछन् ।

भ्रमण कार्यदलमा प्रधानमन्त्री ओलीसँग धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, नेकपा (एमाले)का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू रहने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्कनेछन् ।

यस्तो छ चीन भ्रमणको नालिबेली :

– भ्रमणको मूल उद्देश्य चीनको थियानजिन सहरमा आयोजना हुने साङ्घाई सहयोग संगठन (साङ्घाई कोअपरेशन अर्गनाइजेशन– एससीओ) को शिखर सम्मेलनमा भाग लिनु ।
– चीन, रूस, भारत, पाकिस्तान, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, इरान, र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू र अफगानिस्तान र मंगोलिया, दुई देश पर्यवेक्षक राष्ट्रहरू ।
– नेपाल (सन् २०१६ देखि)सहित टर्की, श्रीलंका, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स साङ्घाई सहयोग संगठनका संवाद साझेदारहरू (डायलग पार्टनर) ।
– अहिले संगठनमा नेपालको सहभागिताको स्तर अभिवृद्धि गर्नु, समसामयिक क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा नेपालको दृष्टिकोण र प्राथमिकता स्पष्ट रुपमा उजागर गर्नु एवम् यस मार्फत् अत्यधिक लाभ हासिल गरी नेपालको हित प्रबद्र्धन गर्नु मुख्य उद्देश्य रहेको ।
– भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङ र उपराष्ट्रपति हान चङ्गसँग दुई पक्षीय भेट हुने र छुट्टाछुट्टै रात्रिभोजमा कार्यक्रम सरिक हुने ।
– भदौ १६ गते थियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनमा नेपालको सहभागिता हुने र प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको ।
– एससीओ शिखर सम्मेलनका क्रममा प्रधानमन्त्रीले विभिन्न मित्रराष्ट्रका राष्ट्र तथा सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको ।
– भेटघाटमा नेपाल र ती मुलुकबीचका द्विपक्षीय एवं अन्य प्राथमिकताका विषयमा छलफल हुने ।
– थियानजिनमा रूसी महासंघका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भइसकेको ।
– भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवाद विरुद्धको विश्वयुद्ध र जापान विरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औं वार्षिकोत्सव समारोहमा सहभागी हुने कार्यक्रम रहेको ।
– भ्रमणबाट नेपाल र जनवादी गणतन्त्र चीनबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध थप सुदृढ हुनुका साथ एससिओ शिखर सम्मेलनमा नेपालको सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा विभिन्न समसामयिक विषयमा नेपालको अवधारणा एवं प्राथमिकताको प्रस्तुतिबाट मुलुकको छवि एवं प्रतिष्ठा अभिवृद्धि हुने विश्वास लिएको ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments