सेवासञ्चार
काठमाडौं, ११ भाद्र
मुलुकका दुई अन्तर्राष्ट्रिय विमानस्थल ‘गौतमबुद्ध’ र ‘पोखरा’मा नियमित रूपमा उडान सञ्चालन गर्ने सम्बन्धमा विभिन्न मन्त्रालयबीच छलफल भएको छ । अर्थ मन्त्रालयमा भएको छलफलमा दुवै विमानस्थलमा दिगो रुपमा अन्तर्राष्ट्रिय उडान गर्नेसम्बन्धी कार्ययोजनामाथि छलफल भएको हो ।
त्यस्तै गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भारवहन क्षमतालाई व्यवस्थापन गर्ने, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रूपमा अन्तर्राष्ट्रिय उडानका लागि सम्भावित उपायहरू पहिचान गरी कार्ययोजना अघि बढाउने बारे पनि छलफल भएको छ । विमानस्थल बने पनि सञ्चालनमा समस्या भएपछि पछिल्लो समय ती विमानस्थल कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।
छलफलमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. शिवराज अधिकारी, मुख्यसचिव एकनारायण अर्याल, सचिवहरु तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलगायतको सहभागिता थियो ।