– ३ दर्जन नयाँ ब्रान्ड लन्च
सेवासञ्चार
काठमाडौं, २१ साउन
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को आयोजनामा पहिलो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्सपो, २०२५’ आजबाट सुरु भएको छ । साउन २५ गते आइतबारसम्म चल्ने एक्स्पोको अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरे ।
काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा ५ दिनसम्म चल्ने यस एक्स्पोको पहिलो दिन ३ दर्जनजति नयाँ मोडेलका सवारीसाधन सार्वजनिक गरिएका छन् । व्यवसायीहरुले आज सार्वजनिक गरेका नयाँ तथा पुराना स्टक गाडीहरुमा विशेष छुटको घोषणसमेत गरेका छन् । प्रदर्शनीमा १५ वटा दुई पांग्रे, १५ वटा चार पांग्रे, र ५ वटा नयाँ व्यवसायिक गाडीहरु सार्वजनिक भएका छन् ।
एक्सपोमा नयाँ प्रविधि र मोडलहरू सार्वजनिक भए भने विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानहरू पनि प्रदर्शनीमा राखिएका छन्, जहाँ ५० भन्दा बढी ब्रान्डहरू सहभागी छन् । अटो शोमा सवारीसाधन बेच्ने कम्पनीका अलावा बैंक तथा वित्तीय संस्थाको पनि सहभागित रहेको छ ।
प्रदर्शनीको प्रवेश टिकट खल्ती बाई आईएमई एपमार्फत अग्रिम खरिद गर्न सकिन्छ । यसका साथै सधैंभरि पार्किङ समस्याले सताउने प्रदर्शनीस्थलमा यस पटक भने पार्किङ व्यवस्थाका लागि नाइमाले पठाओसँगको सहकार्यमा भृकुटीमण्डप गन्तव्य हुने राइडहरूमा ३० प्रतिशतसम्मको छुट व्यवस्था गरेको छ ।
नाइमाको आयोजनामा सुरु भएको यो एक्सपो नेपालमा हालसम्मकै सबैभन्दा ठूलो र प्रभावकारी अटोमोबाइल प्रदर्शनी हुने अपेक्षा गरिएको छ ।