सेवासञ्चार
काठमाडौं, २१ साउन
कर्णाली प्रदेशसभाको अधिवेशन आज रातिदेखि अन्त्य हुने भएको छ । कर्णाली प्रदेश मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले आज (बुधबार) राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेसँगै प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं अधिवेशन अन्त्य हुने भएको हो ।
बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलकराज ढकाललाई सामाजिक विकास मन्त्रालयमा सचिवका रूपमा खटाउने निर्णय गरेको छ । ढकाल यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत हुनुहुन्थ्यो ।
यस्तै सर्वोच्च अदालतको २०८२ जेठ ७ गतेको परमादेश बमोजिम जाजरकोट जिल्लाको जुनिचाँदे गाउँपालिकाको प्रशासनिक केन्द्र गाउँपालिका– ४ लुहादहमा तोक्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले पत्रकारिता क्षेत्रको सशक्तीकरणका लागि ‘पत्रकारिता पुरस्कार वितरण कार्यविधि २०८२’ स्वीकृत गरेको छ ।
यस्तै सूचनाको हकसम्बन्धी कार्यान्वयनको प्रभावकारिता मूल्याङ्कन गर्न शासकीय सुधार महाशाखाका सचिवको संयोजकत्वमा कर्णाली प्रदेश सूचनाको हक अनुगमन समिति गठन गरिएको छ । उक्त समिति प्रदेशका विभिन्न कार्यालयमा सूचनाको हक लागू भए नभएकोबारे अनुगमन गर्नेछ ।