सेवासञ्चार
काठमाडौं, साउन २०
नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। मंगलबार बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएपछि रिक्त रहेको पदमा नियुक्ति प्रक्रियाका लागि दाबी पेस गर्न हिजाे साेमबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आह्वान गरेका थिए । बानियाँले हिजै नेपाली कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीको लागि दाबी पेस गरेका थिए । बानियाँकाे एकल दाबी परेपछि उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
नवनियुक्त मुख्यमन्त्री बानियाँको शपथ ग्रहण कार्यक्रम आजै अपराह्न ४ बजेका लागि तोकिएको छ। उनले शपथ खाएपछि अन्य विभागीय मन्त्रीहरू नियुक्त गर्ने प्रक्रिया थालिने जनाएको छ।