Monday, September 15, 2025
spot_img
Homeराष्ट्रियघरेलु उद्योग : अवसर र चुनौती

घरेलु उद्योग : अवसर र चुनौती

– भरतविक्रम ढकाल

नेपालको सामाजिक, सांस्कृतिक र आर्थिक स्वरूपलाई नजिकबाट नियाल्ने हो भने घरेलु उद्योगको उपस्थिति सदैव देखिन्छ। नेपाली समाजमा परम्परागत ज्ञान, सीप र स्थानीय स्रोत साधनको संयोजनले उत्पादन गर्ने तरिकालाई घरेलु उद्योग भनिन्छ । यी उद्योगहरू मुख्यत: परिवार-केन्द्रित, सानो लगानीमा सञ्चालित, र श्रम प्रधान हुन्छन् । नेपालजस्तो विकासाेन्मुख देशमा, जहाँ ठूला उद्योगहरुको संख्या र प्रभाव सीमित छ, यस्तो अवस्थामा घरेलु उद्योगहरुले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाइरहेका हुन्छन् ।

केन्द्रीय तथ्यांक विभागका अनुसार, सन् २०२४ सम्म नेपालमा दर्ता घरेलु उद्योगको सङ्ख्या करिब १ लाख ३२ हजार पुगेको छ, जसमा करिब ८०प्रतिशत उद्योगहरू  गाउँमा सञ्चालित छन् । ती उद्योगहरूले झन्डै ६ लाख बढी मानिसलाई प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी दिइरहेका छन् । अधिकांश घरेलु उद्योगहरु हस्तकला, ढाका टोपी, अल्लो कपडा, काठ तथा बाँसका सामग्री, माटोका भाँडाकुँडा, लोक्ता कागज, चिउरा उत्पादन, मौरी पालन र घरेलु मदिरा उत्पादन र बिक्रीवितरणमा केन्द्रित छन् । महिला, दलित र जनजाति समुदायबाट सञ्चालन हुने यस्ता उद्योगले सामाजिक समावेशितामा समेत उल्लेखनीय भूमिका खेलेका छन् ।

घरेलु उद्योग वास्तवमा नेपालको मौलिकता र सांस्कृतिक सम्पदाको पहिचान पनि हो। पाल्पाको ढाकाका कपडा, भोजपुरको अल्लो, दोलखाको हस्तनिर्मित कागज, भक्तपुरका माटोका भाँडाहरू, पाटनका धातु मूर्तिहरू, जनकपुरका मिथिला चित्रकलाहरू आदि नेपाली पहिचानसँग गाँसिएका उत्पादनहरू हुन् । यस्ता वस्तुहरुको विदेशमा समेत ठूलो माग छ । नेपाल हस्तकला महासङ्घका अनुसार, सन् २०२३/०२४ मा मात्रै हस्तकला जन्य वस्तुहरूको निर्यात मूल्य २ अर्ब ८० करोड रुपैयाँ पुगेको छ,  जसले विदेशी मुद्राको आम्दानीमा पनि योगदान दिएको छ।

यति सम्भावना हुँदाहुँदै पनि घरेलु उद्योगहरू विविध चुनौतीसँग जुझिरहेका छन् । प्रविधिको अभाव, गुणस्तरीय उत्पादनको समस्या, आधुनिक बजार प्रणालीसँग जडानको कमी, वित्तीय पहुँचको अभाव र सरकारी सहयोगको न्यूनता प्रमुख चुनौतीका रुपमा देखापरेका छन् । पछिल्लो समयमा युवापुस्ताले परम्परागत सीपमा रुचि नदिँदा सिप हस्तान्तरणमा समस्या देखिएकाले यी सीपको संरक्षण एउटा चुनौती बन्न सक्ने देखिन्छ । धेरै घरेलु उद्योगहरुबाट उत्पादित वस्तुको ब्रान्डिङ् र प्याकेजिङ्गमा गुणस्तरीयता  ल्याउन आवस्यक छ । यसरी व्यवसायिक रुपमा जान सक्ने हो भने यो व्यवसाय निकै सफल भएर अगाडि बढ्न सक्छ । तर वर्तमान सन्दर्भमा व्यवसायिक भनाइअनुसार, व्यक्ति वा समुदायले उत्पादनको उचित मूल्य समेत प्राप्त गर्न सकेका छैनन् ।

यद्यपि, डिजिटल प्रविधि र ई-कमर्सको प्रयोग, सहकारी तथा सामूहिक उत्पादन प्रणालीको विकास, पर्यटनसँगको एकीकृत योजना र सरकारी कार्यक्रमहरू प्रभावकारी रुपमा लागू गर्न सक्ने हो भने यी उद्योगहरुले अझ व्यापक रुपमा काम गर्न सक्छन् ।  यस्ता उद्योगमा लगानी गर्नु भनेको नेपालको मौलिक उत्पादनको संस्थागत विकास र विस्तार गर्नु मात्र होइन ,ग्रामीण क्षेत्रको समग्र आर्थिक रूपान्तरण तर्फको कदम चाल्नु पनि हो ।

नेपालका घरेलु उद्योगहरू सानो व्यापारिक गतिविधि मात्र होइनन्, यी हाम्रो पहिचान संस्कृति र भविष्यको समृद्धिको सम्भावना पनि हुन् । आवश्यक छ, यिनको संरक्षण, प्रवर्द्धन र आधुनिककरणतर्फ सबै पक्षको साझा प्रतिबद्धता । यो व्यवसायलाई सशक्त बनाउन सक्ने हो भने  हामीले आत्मनिर्भर नेपाल निर्माणमा सफलता प्राप्त गर्न एउटा महत्त्वपूर्ण आयाम बन्न सक्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments