सेवासञ्चार संवाददाता
काठमाडौं, साउन १२
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा चर्चित युवा नेता ज्ञानेन्द्र शाहीलाई अमेरिकाको न्युयोर्कमा आयोजित एक भव्य समारोहमा ग्लोबल हिरो अवार्डबाट सम्मान गरिएको छ । यो पुरस्कार राष्ट्र निर्माण र जनसेवामा उल्लेखनीय योगदान पुर्याउने नेपाली व्यक्तित्वलाई दिइने अत्यन्त सम्मानित अवार्ड हो ।
शाहीले यो अवार्ड कर्णाली र जुम्ली जनताको विश्वास र समर्थनको प्रतीक भएको बताउँदै आफ्नो सफलतालाई सम्पूर्ण देश–विदेशमा रहेका नेपालीहरूको भरोसासँग जोडेका छन् । उनले भनेका छन्, ‘यो अवार्ड मेरो व्यक्तिगत सफलताको भन्दा पनि कर्णाली र जुम्ली क्षेत्रका जनताको विश्वास र आशाको सम्मान हो । यो सम्मानले अझै जिम्मेवार र समर्पित भएर जनताको सेवा गर्न प्रेरणा दिएको छ ।’
सामाजिक र राजनीतिक क्षेत्रमा शाहीले युवाहरू माझ आफ्नो प्रभावशाली भूमिका कायम गर्दै आएका छन् । उनको सक्रियता कर्णाली प्रदेश र जुम्ली जिल्लाको विकासमा विशेष रुपमा देखिएको छ ।
ग्लोबल नेपाली सोसाइटीले प्रत्येक वर्ष राष्ट्र निर्माणमा विशिष्ट योगदान दिने नेपालीहरूलाई यो अवार्ड प्रदान गर्दै आएको छ । यस वर्षको समारोहमा नेपाललगायत विश्वभरिका विभिन्न क्षेत्रका नेपाली समुदायका सम्मानित व्यक्तिहरु सहभागी थिए ।
साथै सोही कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि ग्लोबल हिरो अवार्ड प्रदान गरिएको छ । घिसिङलाई नेपालमा लोडसेडिङ अन्त्य गर्ने र विद्युत् आपूर्ति सुधारमा उल्लेखनीय कार्य गरेबापत सम्मान गरिएको छ । उनले नेपाल विद्युत् प्राधिकरणलाई प्रभावकारी बनाउँदै जनतालाई २४ घण्टा विद्युत् सेवा उपलब्ध गराएका थिए ।
यस समारोहमा महिला स्वास्थ्य र सशक्तीकरणका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएबापत अभियन्ता डा. लक्ष्मी प्रधान, प्रविधि उद्यमी र स्टार्टअप प्रवर्तक सागर श्रेष्ठ, सामाजिक न्याय र मानव अधिकार अभियन्ता सन्तोष गुरुङलाई पनि सम्मान गरिएको थियो ।
यस वर्षको अवार्ड समारोहमा ग्लोबल नेपाली सोसाइटीले नेपाल र विदेशमा समाज परिवर्तनमा अतुलनीय योगदान गर्ने नेपाली नायकहरुलाई उच्च सम्मान गर्न सम्मान कार्यक्रम आयोजना गरेको हो । समारोहमा नेपाली डायस्पोरा र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो ।