काठमाडौं, साउन ११
नेपाल राष्ट्र बैंकले ५० अर्ब निक्षेप सङ्कलन गर्ने भएको छ । निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत २८ दिनका लागि राष्ट्र बैंकले निक्षेप सङ्कलन गर्न लागेको हो ।
केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको हो । अधिक तरलता व्यवस्थापन गर्न निक्षेप सङ्कलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो । यसका लागि आइतबार (आज) दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।
बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप सङ्कलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ ।