Monday, September 15, 2025
spot_img
Homeआर्थिकबीमाबीमा बजार, चुनौती र सुधारका उपाय

बीमा बजार, चुनौती र सुधारका उपाय

गीता भट्ट

नेपालको बीमा क्षेत्र पछिल्लो दशकमा तीव्र गतिमा विस्तार भइरहेको छ। जीवन र गैरजीवन दुवै प्रकारका बीमा कम्पनीहरूको वृद्धि र सेवा विस्तारले यस क्षेत्रमा सकारात्मक संकेतहरु देखिएका छन् । तर, अझै  पनि  धेरै सम्भावनापूर्ण रुपमा दोहन भएको छैन ।

हाल नेपालमा २० वटा जीवन बीमा र १९ वटा गैरजीवन बीमा कम्पनी क्रियाशील छन् । यी कम्पनीहरूले मुख्यतया सहरी क्षेत्रमा आफ्नो प्रभाव जमाएका छन् ।  ग्रामीण क्षेत्र अझै पनि बीमाको पहुँचबाट टाढा छ । बीमा प्राधिकरणको लक्ष्यअनुसार आर्थिक वर्ष २०७९/०८० मा बीमा क्षेत्रबाट कुल १ सय २० अर्ब रुपैयाँ बराबरको बीमा शुल्क संकलन भएको थियो । यसमध्ये झन्डै ७० प्रतिशत हिस्सा जीवन बीमाको थियो, जसले यो क्षेत्रको महत्व दर्साउँछ । तर, प्रगति सँगसँगै  बीमा बजारले केही  चुनौतीहरूको पनि सामना गरिरहेको छ । अहिलेसम्म पनि  कतिपय ग्रामीण भेगमा बीमाको आवश्यकता, उपयोगिता र फाइदाका बारेमा पर्याप्त जानकारी छैन । बीमालाई केवल आवश्कता नभएको खर्चको रुपमा लिने प्रवृत्ति अझै पाइन्छ ।

बीमा कम्पनीहरूको सेवा पनि सहर केन्द्रित छ किनकि सहरमा जनसंख्या बढी छ । तर ग्रामीण क्षेत्रमा  शाखा कार्यालयको सीमितता छ । बीमा एजेन्टहरूको सक्रियता कम छ । यो कारणले ग्रामीण भेगमा बीमा सेवा कमजोर छ । अर्कोतर्फ बीमा दाबी भुक्तानीमा हुने ढिलाइ र प्रक्रियाको जटिलताले उपभोक्तामा असन्तुष्टि र अविश्वास पैदा गरिरहेको हुन्छ । यद्यपि यी सबै चुनौतीहरु समाधान गर्न सकिन्छ । जस्तो, डिजिटल प्रविधिको प्रयोग मार्फत बीमा सेवा सहज र पारदर्शी बनाउन सकिन्छ । मोबाइल एप, अनलाइन बीमा खरिद र डिजिटल दाबी प्रक्रियाले नयाँ पुस्तालाई आकर्षित गर्न सक्दछ । बीमा कम्पनीहरुले यो बाटो अवलम्बन गर्दै गरेको पाइन्छ । तर अझै पनि यस क्षेत्रमा गर्नुपर्ने सुधारका काम बाँकी नै छन् ।

सूक्ष्म बीमा, कृषि बीमा, स्वास्थ्य बीमालगायतका योजना ग्रामीण तथा श्रमिक वर्गका लागि उपयोगी हुन सक्छन् । यी योजनालाई लक्षित वर्गसम्म पुर्याउन सके बजारको दायरा व्यापक बन्न सक्छ । बीमा प्राधिकरणले नियमहरू कडाइका साथ कार्यान्वयन गराउने हो भने यो क्षेत्रले निकै फड्काे मार्न सक्छ । बीमा साक्षरतामा विशेष ध्यान दिनुपर्छ । यसोगर्दा थप जनविश्वास बढ्न सक्छ। यसले दीर्घकालीन सुधारलाई सहज बनाउन सक्छ ।

नेपालमा बीमा क्षेत्र सम्भावनाले भरिएको छ । तर  पनि जागरुकता, पहुँच र पारदर्शिताको अभावले सीमित भएको छ । यदि नीति निर्माता, बीमा कम्पनी र सेवाग्राहीहरू सबै मिलेर अगाडि बढ्ने हो भने बीमा क्षेत्रले नेपालको आर्थिक योगदानमा अझै महत्वपूर्ण योगदान दिन सक्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments