Monday, September 15, 2025
spot_img
Homeविचारपूर्वराष्ट्रपतिको राजनीतिक पुनरागमनमाथिको बहस

पूर्वराष्ट्रपतिको राजनीतिक पुनरागमनमाथिको बहस

– ऋषिराम ढकाल

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक पुनरागमनका लागि पार्टी सदस्यता नवीकरण गर्न निवेदन दिएको (नवीकरण भइसकेको भन्ने पनि छ) र पूर्वराष्ट्रपतिका हैसियतले राज्यबाट पाउने सेवासुविधा फिर्ता गरिसकेको जानकारीमा आएको छ । पार्टी कार्यकर्ता तथा आम नागरिकको समर्थनमा पार्टी प्रमुख तथा पुनः राष्ट्रप्रमुख (राष्ट्रपति वा कार्यकारी प्रधानमन्त्री) बन्न खोजेको भनी उनको प्रशंसा र आलोचना दुवै भइरहेका छन् । राजनीतिमा आउने वा नआउने भन्ने कुरा उनको निजी विषय हो । तर, जेजति चर्चा भएका छन्, त्यसले मुलुकमा केही नयाँ सञ्चार अवश्य नै भएको छ ।

एकपटक राष्ट्रप्रमुख (राष्ट्रपति) भइसकेको व्यक्ति पुनः राजनीतिमा आउनै नहुने भन्ने कतै उल्लेख छैन । राजनीति गर्ने भनेकै राज्यको सर्वेसर्वा बन्ने र राज्यका तर्फबाट आजीवन सेवासुविधा लिएर बस्ने भन्ने व्यक्तिगत स्वार्थी सिद्धान्त तयार पारिएको छ, जुन उचित नहोला । राज्यका स्रोत (पैसा, पद र प्रतिष्ठा)को अधिकतम फाइदा लिनु नै वर्तमान राजनीतिक दलका नेतृत्वको चासो रहेकाले नै आज राजनीति आकर्षणको केन्द्र बनेको छ । यस्तो विचारलाई चिर्नु आवश्यक छ र त्यसको सुरुवात पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सेवासुविधा फिर्ता गरेर गरेकी छिन्, यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।

विद्यादेवी भण्डारी राष्ट्रपति बन्नुअघि नेकपा एमालेकी उपाध्यक्ष थिइन् । त्यसैले उक्त पार्टीप्रति उनको सदासयता हुनु स्वाभाविकै हो । उनले पार्टी सदस्यता नवीकरणका लागि निवेदन दिइन् (नवीकरण भइसकेको भन्ने पनि छ), यसमा पनि जनताले चिन्ता लिनुपर्ने छैन, पार्टीपंक्तिमा आफू पछाडि परिएला भनेर रोइलो गर्नेहरुको कुरा बेग्लै भयो । पूर्वराष्ट्रपति भएकै कारण निस्क्रिय जीवन बिताउनुभन्दा जनतासँग घुलमिल भएर समाजसेवा गर्ने उद्देश्यले सक्रिय राजनीतिमा आएको पनि हुन सक्छ । यसैलाई भण्डारी फेरि राजनीतिमा आएर पुनः राष्ट्रप्रमुख (राष्ट्रपति वा कार्यकारी प्रधानमन्त्री) बन्न लागेकी छिन्, उनको त्यो कदम सह्य हुँदैन भन्दै तीव्र आलोचना गर्नेमा सम्भावित राष्ट्र प्रमुख (यही व्यवस्था रहेमा) नै छन्, कतै भाग खोसिने भयो भनेर तिक्तता पोखेको पो हो कि !

वास्तवमा राजनीति समाजसेवा नै हो । आर्थिक लोभलालच वा व्यक्तिगत फाइदा लिएर राजनीति गर्नु भनेको राजनीतिक बेइमानी हो, यद्यपि राजनीतिक नियुक्तिका क्रममा नियमानुसार लिइने सेवासुविधालाई विश्वव्यापी रुपमा सर्वस्वीकार्य मानिएको छ । तर, अहिले भर्खर राजनीतिमा होमिएका २४/२५ वर्षका कुनै पनि युवालाई राजनीतिमा किन लागेको भनेर सोध्ने हो भने मन्त्री, प्रधानमन्त्री वा राष्ट्रपति बन्ने र आजीवन सेवासुविधा (आर्थिक, भौतिक, सुरक्षालगायत) लिएर आफू मोज गर्ने र पुस्तौंलाई पुग्ने सम्पत्ति कमाइदिने भन्ने उत्तर आउँछ । यस्तै सवालजवाफ एक युवासँग, जो भर्खर राजनीतिमा लागेका थिए, यस स्तम्भकारसँग केही पहिला भएको पनि थियो । त्यसबेला उक्त युवासँग स्तम्भकारको भनाइ थियो, यही स्वार्थी सोचका कारण नै देशको राजनीति ‘फोहोरी नीति’मा परिणत भएको छ, यस्तो सोचलाई अहिलेका युवाले परिवर्तन गर्नैपर्छ । तर, सुधारको कुनै गुञ्जायस छैन । बरु राजनीति फोहोरी भयो भनेर मनन गर्नेहरु विदेशतिर पलायन हुने अवस्थामा पुगेका छन्, भलै केही व्यक्ति देशको राजनीति सुधार गर्छु भनेर विदेशबाट फर्किका होलान् । ती फर्किएकामा पनि ‘तातै खाऊँ जल्दै मरुँ’ जस्तै भएको छ, धैर्यको गुञ्जायस देखिएन ।

वास्तवमा राजनीति समाजसेवा नै हो । आर्थिक लोभलालच वा व्यक्तिगत फाइदा लिएर राजनीति गर्नु भनेको राजनीतिक बेइमानी हो,

राजनीतिमा स्वच्छ नीति हुनुपर्छ । नीतिनियम बनाउने र कार्यान्वयनमा ल्याउन उचित वातावरण तयार पार्ने काम राजनीतिकर्मीको हो । राजनीतिक सहमति (बहुमत)मा पारित नीतिनियम पालना गराउने वा कार्यान्वयनमा ल्याउने काम कर्मचारीहरुको नै हो । अतः स्वच्छ राजनीति गर्छु भनेर कोही पूर्वराष्ट्रपति वा पूर्वप्रधानमन्त्री खुला मैदानमा आउन चाहन्छन् भने कसैलाई पनि ओझेलमा पार्नु हुँदैन, स्वार्थकै खेल हो भने बेग्लै कुरा भयो ।

भण्डारीका कदमबाट उब्जिएका प्रश्न

विद्या भण्डारी एकपटक (दुई कार्यकाल) राष्ट्रपति भइसकेकी व्यक्ति हुन् । नेपालको राजनीतिमा उनको योगदान उच्च रहेको भएर त उनी त्यो उचाइमा पुग्न सफल भइन् । फेरि उनी राजनीतिमा किन ? भनेर प्रश्न आएको छ । एकपटक सगरमाथाको चुचुरोमा पुगेको मान्छे पटकपटक चढ्न सक्छ, त्यसलाई अन्यथा लिनु उचित होइन । तर, पटकपटकको प्रयास स्वरुप पद र प्रतिष्ठाका लागि नै राजनीतिमा लाग्ने सोच बनाएको हो भने त्यो उनका लागि प्रत्युत्पादक बन्न सक्छ किनकि पार्टीभित्र वा बाहिरबाट उनको त्यो उचाइ पुनः प्राप्तिमा तगारो बन्नेको जमात ठूलै देखिन्छ । ‘प्रयास गरुँ न जे पर्ला पर्ला’ भन्ने सोच हो भने त्यसले उनको पहिलाको उचाइ घट्न सक्छ । उनको उचाइ घट्नु भनेको सारा नेपालीको उचाइ घट्नु हो ।

होइन, राजनीति भनेको समाजसेवा हो, र समाजसेवा नै गर्ने भन्ने उद्देश्य राखिएको भए त्यो नेपालको इतिहासमै अविस्मरणीय कार्य हुनेछ, नेपाली प्रथम महिला राष्ट्रपतिको इतिहास रच्न सफल भएकी विद्यादेवी भण्डारीको नाम ‘निःस्वार्थ समाजसेवी’ भनेर इतिहासका पानामा कोरिनेछ । यो उनका लागि मात्र नभई सम्पूर्ण नेपालीका लागि गौरवको विषय बन्न जान्छ ।

नयाँ पुस्तालाई मार्गदर्शन

अहिले राजनीतिका नाममा राज्यकोषको दोहन भइरहेको छ । राजनीतिक नियुक्ति हत्याउने र पद प्रतिष्ठाका साथै अकुत सम्पत्ति कमाउने उद्देश्यले राजनीतिक दलको कार्यकर्ता बन्ने होडबाजी नै छ, यसमा केही विकल्प हुनसक्लान् । शक्तिमा टिकिराख्न कार्यकर्ता पाल्नुपर्ने र त्यसको जोहो सरकारी ढुकुटीबाटै गर्ने प्रवृत्तिले राज्यकोष रित्तिँदै गएको छ भने विभिन्न पार्टीका नेताकार्यकर्ता (सबै नहोलान्‌) अर्बौंका मालिक बनेका छन् । केही वर्षअगाडिसम्म चप्पल पड्काएर राजधानी छिरेको व्यक्ति कसरी अर्बौंको मालिक बन्यो भनेर छानविन हुने अवस्था पनि छैन किनकि छानविन गर्ने हो भने नेतृत्वको खडेरी नै पर्न सक्छ । यस्तो विषम परिस्थितिमा पूर्वराष्ट्रपतिको राजनीतिक पुनरागमन नयाँ पुस्ताका लागि मार्गदर्शन बन्न सक्छ । राजनीति भनेको सेवा हो र सेवामा नै सीमित हुनुपर्छ भन्ने सिद्धान्तलाई व्यवहारमा ल्याउन सक्ने वातावरण उनैबाट बन्न सक्छ । उनको राजनीतिक पुनरागमन यात्राको उचाइलाई अझ उच्च बनाएर राख्न मदत पुग्छ ।

राज्यकोषको बचतमा योगदान

पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा आउने सोचसँगै राज्यका तर्फबाट पाउने सेवा सुविधा फिर्ताको कदमले राज्यकोषको ठूलो राशि बचत हुने देखिन्छ । उनको यो कदमले उनी अगाडिका र पछाडिका उच्चपदाधिकारीलाई सोच्न बाध्य बनाएको छ । लाचार भएर खानै पाइनँ भन्ने दरिद्र मानसिकता भएकाहरुका लागि भने भण्डारीको कदम बेमौसमी बाजा बन्न सक्ला । तर, राज्यका लागि दुःख गरेअनुसारको सेवा राज्यबाट पाइसकेकोमा सन्तुष्ट भएर पूर्वका हैसियतले पाउने सेवासुविधा फिर्ता गरेर निरन्तर राज्यकोष दोहनको प्रवृत्तिलाई समाप्त पार्ने उचित समय भने भण्डारीले निकालिदिएकी छिन् । यसले राजतन्त्रमा पुस्तौंनी सेवासुविधाको नाममा राज्यकोषको दोहन भयो भनी राजतन्त्रकै अन्त्य गर्न भूमिका खेलेका राजनीतिकर्मीलाई सचेत बनाएको छ, निःस्वार्थ रुपमा जनताको सेवक भएर बस्न प्रेरित गरेको छ ।

राजतन्त्रमा पुस्तौंनी सेवासुविधाको नाममा राज्यकोषको दोहन भयो भनी राजतन्त्रकै अन्त्य गर्न भूमिका खेलेका राजनीतिकर्मीलाई सचेत बनाएको छ, निःस्वार्थ रुपमा जनताको सेवक भएर बस्न प्रेरित गरेको छ ।

भण्डारी सक्रिय राजनीतिमा आउन लागेकोमा असहमति जनाउनेहरुले सरकारी सेवासुविधा फिर्ताको निर्णयको पक्ष वा विपक्षमा भने खासै बोलेको पाइँदैन । यसको अर्थ आफूले लिएको भए पो भन्ने मानसकिता पनि हुन सक्छ । तर, राज्यकोषबाट आर्थिक तथा अन्य सेवा सुविधा लिने (अझ भनौं दुरुपयोग गर्ने) पूर्वपदाधिकारी (उच्च पदस्थ)को सूची लामै छ । यदि भण्डारीको कदमको विरोध नगर्ने हो भने समर्थन गरेको भन्ने हुन्छ र सबै पूर्वपदाधिकारीलाई राज्यकोषको दोहन गर्नबाट मुक्त हुन दबाब पर्नुपर्ने हुन्छ । त्यसो भएको भने पाइँदैन ।

अबका पुस्तालाई शिक्षा

राजनीति स्वच्छ हुनुपर्छ, निःस्वार्थ हुनुपर्छ । कसैको लोभलालचमा परेर गरिने राजनीतिले कुनै बेला खाल्डोमा परेका उदाहरण पनि प्रशस्त छन् । आफू सक्षम नभई अरुको सेवा गर्न सकिँदैन । त्यसैले राज्यकै दोहन गरेर जनतालाई बाँड्ने र आफू प्रशंसित हुन राजनीति गर्ने अहिलेको सङ्कुचित धारणामा परिवर्तन गर्नुपर्छ । आफू सक्षम (आर्थिक वा अन्य) भएपछि जनताको सेवामा समर्पित हुन सक्नुपर्छ । यसका लागि भण्डारीले चालेको कदम नयाँ पुस्ताका लागि शिक्षा बन्न सक्छ । आफू कुनै पेसा वा व्यवसाय गरेर आर्थिक रुपमा सक्षम हुने अनि मात्र राजनीतिमा लागेर निःस्वार्थ भावनाले जनताको सेवामा समर्पित हुने वातावरण बनाउन सक्नुपर्छ, त्यस्तै सोच र विचार भएका नेतृत्वको समर्थन गर्नुपर्छ ।

निष्कर्ष

अहिलेको समयमा नेपालको मात्र नभई विश्वकै राजनीति फोहोरी बन्दै जानुमा नेतृत्ववर्गमा राज्यकोषको दोहन गर्ने चाहना तीव्र हुनु नै मुख्य कारण रहेको देखिन्छ । पदमा पुग्ने र आजीवन सेवासुविधा लिने प्रवृत्ति नेपालमा मात्र होइन, अन्य मुलुकका नेतृत्वमा पनि छ, त्यसमा अपवाद अवश्य छन् । आफू पदमा रहँदा जे गरे पनि ठीक र अर्कोले पदमा बसेर जे गरे पनि बेठीक भनी विरोध गर्ने प्रवृत्ति तीव्र हुँदै आउनुमा सैद्धान्तिक भन्दा पनि आर्थिक चलखेल नै मुख्य देखिएको छ ।

पूर्वपदाधिकारीलाई आजीवन सेवासुविधा उपलब्ध गराउने व्यवस्था अधिकांश मुलुकमा नीतिनियम बनाएरै कायम गरिएको छ । त्यस्तो सेवासुविधा दिने कानुनी व्यवस्था भन्दा पनि सत्तामा रहनेको निहीत स्वार्थ हावी भएको देखिन्छ । आफू सत्तामा हुँदा पूर्वलाई दिए आफूले पनि आजीवन सेवासुविधा पाउने लालच नेतृत्ववर्गमा स्पष्ट देखिन्छ । यसले राज्यको आर्थिक उन्नतिमा बाधा उत्पन्न गर्छ भने सत्तामा पुग्ने हतारोले गर्दा शान्ति स्थापनामा समेत खेलबाड भएको छ । राज्यले भविष्यमा मात्र होइन, वर्तमानमा समेत आर्थिक रुपमा क्षति बेहोर्नुपर्ने स्थिति छ । यस्तो स्थितिको अन्त्यका लागि अहिलेका पुस्ता निकै सचेत हुनुपर्ने बेला आएको छ ।

सेवा अरुसँग लिएर होइन, आफूसँग भएको दिएर गर्ने हो । सत्तामा आफू पुगे ठीक अर्को पुगे बेठीक भन्ने प्रवृत्तिको तीव्र आलोचना हुन सक्नुपर्छ । निष्पक्ष भएर नेतृत्व चयन गरी मुलुकको राजनीतिक स्थायीत्वका लागि योगदान गर्न सक्नुपर्छ । ‘राजनीति सेवा हो, स्वार्थ होइन’ भन्ने भाष्य खडा गर्न सक्नुपर्छ ।

(तस्बीर स्राेत https://www.bidyabhandari.com.np/)

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments