ऋषिराम ढकाल
काठमाडौं, ७ साउन ।
नेपालको वैदेशिक व्यापारको अवस्थामा उल्लेखनीय परिवर्तन देखापरेको छ । आर्थिक वर्ष २०८१/०८२ को वैदेशिक व्यापारको विश्लेषणअनुसार निर्यातमा नयाँ रेकर्ड कायम गरेको छ भने आयातको दरमा पनि कमी आएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष (२०८१ साउनदेखि २०८२ असारसम्म)को तथ्यांकअनुसार यस्तो निष्कर्ष निकालिएको हो ।
भन्सार विभागको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष निर्यात ८१ दशमलव ८९ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्ष १ खर्ब ५२ अर्ब रुपैयाँको वस्तु नेपालबाट विभिन्न मुलुकमा निर्यात भएकामा गत आर्थिक वर्षमा नेपालबाट कुल २ खर्ब ७७ अर्ब रुपैयाँ बराबरका वस्तु निर्यात भएको छ । यो एक वर्षको निर्यातमा भएको वृद्धि अहिलेसम्मकै सबैभन्दा उच्च प्रतिशत हो ।
त्यस्तै गत आर्थिक वर्ष २०८१/८२ को समीक्षा अवधिमा अन्य मुलुकसँग नेपालको समग्र व्यापार १९ दशमलव २४ प्रतिशतले बढेको छ । सो आर्थिक वर्षमा नेपालले कुल १८ खर्ब ४ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ । यो आयात अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा १३ दशमलव २५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष १५ खर्ब ९२ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो ।
अघिल्लो आर्थिक वर्ष १ खर्ब ५२ अर्ब रुपैयाँको वस्तु नेपालबाट विभिन्न मुलुकमा निर्यात भएकामा गत आर्थिक वर्षमा नेपालबाट कुल २ खर्ब ७७ अर्ब रुपैयाँ बराबरका वस्तु निर्यात भएको छ ।
आयातनिर्यात दुवैमा उल्लेख्य परिवर्तन हुँदा अन्तर्राष्ट्रिय व्यापारको आँकडामा पनि ठूलो परिमाणमा परिवर्तन भएको देखिन्छ । कुल व्यापारमा निर्यातको हिस्सा १३ प्रतिशत नाघेको छ जबकि अघिल्लो आर्थिक वर्षमा त्यो हिस्सा ८ दशमलव ७३ प्रतिशत थियो । निर्यातको हिस्सा बढ्दा आयातको हिस्सामा पनि परिवर्तन देखिएको छ । गत आवमा आयातको हिस्सा ८६ दशमलव ६९ प्रतिशत पुगेको छ जबकि त्यसअघिको आर्थिक वर्षको कुल व्यापारमा आयातको हिस्सा ९१ दशमलव २७ प्रतिशत थियो ।
आर्थिक वर्ष २०८१/०८२को समीक्षा अवधिमा नेपालको वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब रहेको छ जसमा निर्यात २ खर्ब ७७ अर्ब र आयात १८ खर्ब ४ अर्ब रहेको भन्सार विभागद्वारा जारी वैदेशिक व्यापारको तथ्याङ्कमा उल्लेख गरिएको छ । यसका आधारमा समीक्षा अवधिमा नेपालको व्यापार घाटा १५ खर्ब २७ अर्ब रुपैयाँ रहेको तथ्याङ्कले देखाउँछ ।