सेवासञ्चार
काठमाडौं, साउन ५
चीन सरकारले नेपालका थप चारवटा परियोजनामा सहयोग गर्ने भएको छ । सोमबार नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र अब सञ्चालन हुने परियोजनाहरुका बारेमा छलफलका क्रममा थप चारवटा परियोजनामा चीन सरकारले सहयोग गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
नेपालका तर्फबाट उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का)का अध्यक्ष चेन सियाओदोङ नेतृत्वको प्रतिनिधिमण्डलबीच भएको द्विपक्षीय भेटवार्ताका क्रममा चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पातालमा बोनम्यारो ट्रान्सप्लान्टसन निर्माणसम्बन्धी परियोजनाको र निजामती कर्मचारी अस्पतालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भयो ।
त्यस्तै नेपाल र चीनबीच मानव संशाधन विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो । यसबाट एक हजार २७० जना सरकारी कर्मचारीलाई चीनका विभिन्न संस्थाहरुले आयोजना गरेको द्विपक्षीय तथा बहुपक्षीय सेमिनारमा भाग लिने अवसर प्राप्त हुनेछ । यसले कर्मचारीको क्षमता अभिवृद्धिमा उल्लेख्य योगदान पुग्ने विश्वास लिइएको छ ।
त्यसै गरी सोमबार नै भएको सहमतिमा रसुवागढी–केरुङ सिमापार ट्रान्समिसन लाइन निर्माणको सम्भाव्यता अध्ययनसम्बन्धी निर्णयमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सिड्का अध्यक्षले हस्ताक्षर गरे ।
भौतिक संरचनाको पुनर्निर्माणमा सहयोग गर्ने
रसुवा जिल्लामा बाढीले क्षति पुर्याएको भौतिक संरचनाको पुनर्निर्माणमा चीनले सहयोग गर्ने भएको छ ।
अर्थमन्त्रीसँगको भेटवार्तामा सिड्काका अध्यक्ष सियाओदोङले भौतिक संरचनाको पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रक्रिया छिटो सञ्चालन हुने गरी काम गर्ने जानकारी दिए । सो क्रममा सियाओदोङले बाढीपछि नेपाल सरकारले उद्धार र बेपत्ता भएकाको खोजीमा देखाएको सक्रियता र सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
अर्थमन्त्री पौडेलले विपद् लगत्तैको पुनर्निर्माण नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै भौतिक संरचनाको पुनर्निर्माणप्रति देखाएको तत्परता, चासो र प्रतिबद्धताका लागि चिनियाँ पक्षलाई धन्यवाद दिए ।