सेवा सञ्चार, साउन ३
काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनीष झाले आफ्नो पार्टी प्रदेश व्यवस्थाको पक्षमा रहेको तर प्रदेश सभा व्यवस्थाको विपक्षमा रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश सभाविनाको प्रदेश रहनुपर्ने बताएका हुन् ।
झाले आफ्नो पार्टीको नीतिका बारेमा स्पष्ट पार्दै भने, ‘हामी प्रदेशको व्यवस्था राख्न चाहन्छौं तर प्रदेश सभाको व्यवस्था खारेज गर्न चाहन्छौं ।’ उनले स्थानीय तहका प्रतिनिधिहरुले प्रदेशसभा सञ्चालन गर्ने व्यवस्था गरेर प्रदेश र स्थानीय तहबीचको समन्वयलाई मिलाउन सकिने धारण व्यक्त गरे ।
उनले स्थानीय तहका जनप्रतिनिधि सम्मिलित निकायका रुपमा रहने गरी प्रदेश सभा रहनुपर्ने बताए । साथै उनले आफ्नो पार्टी मन्त्रालयको संख्या २१ बाट १५ मा झार्ने योजनामा रहेकोसमेत स्पष्ट पारे ।
उनले वर्तमान सरकारका सत्ता साझेदार दलका नेताहरुमा योजना, सिद्धान्त र रणनीति केही पनि नरहेको र रास्वपाका नेताका बारेमा अनेकथरी बोलेर समय बिताउने काम गरेको बताए ।