सेवासञ्चार, १ साउन
काठमाडौं
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समाजवाद कार्यान्वयनको अभ्यास ऊर्जा क्षेत्रबाटै सुरु गर्नुपर्ने बताएका छन् ।
बिहीबार विद्युत् विकास विभागको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले भनेको समाजवाद कार्यान्वयन ऊर्जा क्षेत्रबाटै सुरु गर्नुपर्छ ।’, मन्त्री खड्काले ऊर्जा क्षेत्रको विकासमा सबै नागरिकको सहभागिता आवश्यक रहेको बताउँदै भने, ‘त्यसका लागि सबै नागरिक सहभागी हुन सक्ने गरी ऊर्जा क्षेत्रलाई अगाडि बढाउनु जरुरी छ ।’
गरिबीको रेखामुनि रहेका प्रत्येक नागरिकको घरसम्म ऊर्जामार्फत समाजवादको समृद्धि पुर्याउनका लागि सरकार क्रियाशील रहेको उनले बताए ।
‘हुनेलाई मात्र नभई नहुने नागरिकलाई पनि ऊर्जा क्षेत्रसँग जोडेर समाजवादले खोजेको समृद्धि ल्याउन सक्नुपर्छ’, उनले भने, ‘त्यो समाजवाद मुलुकले चाहेको हो । त्यसका लागि मन्त्रालय लागेको कुरा लुकेको छैन ।’
मन्त्री खड्काले ऊर्जा विकासका क्षेत्रमा विगतमा भएका कामहरूको मूल्याङ्कन र समीक्षा गर्दै थप प्रभावकारी कार्यक्रम अगाडि ल्याउने योजना रहेको बताए । मन्त्री खड्काले विद्युत् आयोजनाहरूमा प्राकृतिक विपत्का कारण अकल्पनीय क्षतिहरू हुने गरेको र त्यसको न्यूनीकरणका लागि काम गर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।
खड्काले मन्त्रालयले विगतमा भएका सकारात्मक कामको जगमा बसेर नै काम भइरहेको बताए । ‘विगतका कामको जगमै बसेर परिमार्जन र परिवर्तन गरिएको हो र त्यसलाई अझ बढी सुधार गर्नु आवश्यक छ । विद्वान् र राजनीतिक क्षेत्रमा बस्ने मान्छेहरूका कुरा सुनेको छु जसले जे भने पनि ऊर्जा क्षेत्रको विकासमा ढिलाइ गर्नुहुन्न भन्ने मानसिकताबाट काम गर्नुपर्ने आवश्यकता छ’, उनले भने ।
‘अझै पनि सबै घरमा विद्युत् पुर्याउन सकिएको छैन । हरेक नेपालीका घरको चुल्होमा विद्युत् पुर्याउने योजना छ’, ऊर्जा मन्त्री खड्काले मन्त्रालयको आगामी कार्ययोजना स्पष्ट पारे ।