Monday, December 23, 2024
spot_img
Homeलेखएनजीओ–आईएनजीओबारे माक्र्स–एङ्गेल्स

एनजीओ–आईएनजीओबारे माक्र्स–एङ्गेल्स

कार्ल माक्र्स–फ्रेडरिक एङ्गेल्सले विश्वप्रसिद्ध घोषणापत्र (सन् १८४८) मा लेख्नुभएको छ, “बुर्जुवावर्गको एउटा हिस्सा यसकारण सामाजिक व्यथाहरूलाई हटाउन चाहन्छ ता कि बुर्जुवा समाजलाई यथास्थितिमा राख्न् सकियाेस् ।”

माक्र्स– एङ्गेल्सले आजभन्दा करिब १७६ वर्ष पहिले भनेको एनजीओ, आईएनजीओबारेको यो यथार्थ नेपालमा अहिले बुर्जुवावर्ग मात्रै नभई, वामपन्थको खोलभित्रको अर्को ठूलो हिस्सा ‘कम्युनिस्ट’ पनि नेपालबाट सामाजिक व्यथाहरूलाई हटाउन ‘कम्मर कसेर’ यसकारणले लागेका छन् ता कि त्यसबाट आउने ठूलो धनराशीलाई आफ्नो व्यक्तिगत पद–प्रतिष्ठा तथा पारिवारिक हितमा उपयोग गर्न सकियोस् । साथै, बुर्जुवा समाजमा क्रान्तिकारी परिवर्तन ल्याउन खोज्ने अन्य क्रान्तिकारी कम्युस्टिहरूलाई सुस्तसुस्त सुधारवाद र विकासवादमा ढाल्न सकियोस् ।
माक्र्स–एङ्गेल्सको समयका एनजीओ, आईएनजीओहरूको उद्देश्य र अहिलेका एनजीओ–आईएनजीओहरूको उद्देश्यमा रूपमा अनेक भिन्नता देखिए तापनि सारमा एउटै हो– साम्राज्यवादको जालोलाई नेपालका हरेक तह र तप्कामा विस्तार गर्ने । अहिलेका नेपालका एनजीओहरूमा वामपन्थीहरूको संलग्नतामा अत्यधिक वृद्धि हुँदै गएको छ । त्यसैले उनीहरू रूपमा क्रान्तिकारी तथा प्रगतिशील हुन्छन् तर सारमा बुर्जुवा समाजलाई यथास्थितिमा राख्दै विकास, मानव अधिकार, लोक कल्याणकारी कामको लागि आउने ठूलो धनराशीलाई आफ्नो व्यक्तिगत पदप्रतिष्ठा तथा पारिवारिक हितको लागि उपयोग गर्नेमा नै जोड रहने गरेको छ ।

यसो गरेर नेपालका ती कम्युनिस्टहरूले आफूलाई सँगसँगै क्रान्तिकारी तथा प्रगतिशील पनि भइने र जनताको लागि विकासेदाता पनि भइरहन सकियोस् भन्ने चाहन्छन् । माक्र्स–एङ्गेल्सले भनेका यस्तै बुर्जुवा र तथाकथित सर्वहारावर्गका मुक्तिदाता प्रध्यापक, इन्जिनियर, डाक्टर, वकिल, अर्थशास्त्री, समाजशास्त्री, परोपकारी, मानवतावादी, श्रमजीवीवर्गको स्थितिमा सुधार गर्ने सुधारक, गरिब, दुःखीका सहायताकर्मी, पशुनिर्दयता निवारण समाजका सदस्य, मादक पदार्थ निषेधका हिमायती आदि हरेक कल्पनीय प्रकारका अज्ञात सुधारकहरूले अहिले भिक्षाको झोली थापेर दातृसंस्थाका व्दारमा भिक्षाटनका लागि बसिरहेका देखिन्छन् ।

माक्र्स–एङ्गेल्सको समयमा बुर्जुवावर्गको एउटा हिस्साको त्यसमा सहभागिता थियो भने आज सर्वहारावर्गको लागि काम गर्ने र माक्र्सवादका नेता–कार्यकर्ता, जसले क्रान्ति र परिवर्तनका राम्रा–राम्रा र तात्ताता गफ गर्ने प्राध्यापक, इन्जिनियर, डाक्टर, वकिल, अर्थशास्त्री, समाजशास्त्रीहरू मात्रै नभई स्वयम् पार्टीका नेता–कार्यकर्ता नै भिक्षाको भाँडो हातमा बोकेर आईएनजीओ र एनजीओको ढोका–ढोकामा चियाउँदै हिँडेको देख्न पाइन्छ ।

सन् १८४८ मा बुर्जुवावर्गको एउटा हिस्सा मात्रै त्यसमा संलग्न थियो भने अहिले त यसको जालो माक्र्सवादी नामका अनेक हिस्सा एनजीओ र आईएनजीओरूपी माकुराको जालोमा फसेका छन् । यसरी स्वयम्सेवी सङ्गठन एवम् दातृ–सङ्गठनहरूको विश्वव्यापी जालोको यो घेराबाट नेपाल पनि नराम्ररी घेरिँदै गएको छ । नेपालजस्ता तेस्रो विश्वका मुलुकहरूमा गैरसरकारी सङ्गठनले विकास र जनकल्याणकारी काम गर्ने भन्दै स्वयम्सेवी सङ्गठन तथाकथित ‘मुनाफारहित तेस्रो क्षेत्र’ का रूपमा एउटा भूमण्डलीय माकुराको जालोजस्तै फैलिएका छन् । सही माक्र्सवादीहरूको लागि गैरसरकारी संस्था( एनजीओ र आईएनजीओ) एउटा बदनाम भएको शब्द हो । गैरसरकारी संस्थाहरू विभिन्न साम्राज्यवादी एजेन्सीहरू, साम्राज्यवादी सरकारहरू र दलाल शासकद्वारा आर्थिक सहयोग प्राप्त गरिएका र उनीहरूद्वारा निर्देशित हुन्छन् । तिनीहरूले जनता र सरकारबिच एउटा सम्पर्काधिकारीका रूपमा काम गर्दछन् । तिनीहरू त्यस्तो साधन हुन्, जसमार्फत शोषकहरूले ‘नागरिक समाज’ का विचारमाथि प्रभाव पार्न खोज्दछन् । तिनीहरू भनेका साम्राज्यवादी पुँजीका नोकरचाकर हुन । प्रायः सबै एनजीओहरू साम्राज्यवादीहरूका अदृश्य हातद्वारा निर्देशित हुन्छन्, जसले उनीहरूको रणनीतिक लक्ष्यहरूसित मिल्ने गरी आर्थिक सहयोग दिने गर्दछन् ।

विकास, सामाजिक न्याय, मानव अधिकार, जनताको तल्लो तहको लोकतन्त्र आदिका नाममा एनजीओहरूको कन्तुरभित्र विशाल आर्थिक सहयोग खनाइदिन्छन । बितेका दशकमा विश्व बैङ्क र अन्य संयुक्त राष्ट्रसङ्घसित सम्बन्धित एजेन्सीहरूले जोड दिँदै आएका छन् कि विकासोन्मुख तथा गरिब देशका जनतालाई दिइने आर्थिक सहयोगलाई सरकारमार्फत उपयोगमा ल्याइनुपर्छ । यस्तो विशाल आर्थिक सहयोग उनीहरूको निर्णयमा परिचालित गरिने भएपछि एनजीओहरूले जनताबाट पूरै सम्बन्ध–विच्छेद गरेका हुने–खाने वर्गको रूपमा काम गर्दछन् । यद्यपि तिनीहरूले आफूहरूलाई जनताका लागि दाताका रूपमा प्रस्तुत गर्ने कोसिस भने गर्दछन् । यो अनुमान गरिएको छ कि मुस्किलले छुट्याइएको आर्थिक सहयोग रकमको १० देखि १५ प्रतिशत मात्र अति आवश्यक जनतासम्म पुग्छ, जब कि यसको अत्यधिक भाग एनजीओ स्थापनाका लागि आवश्यक मर्मत–सुधारको काममा खर्च गरिन्छ र तथाकथित स्वयम्सेवकको दैनिक खर्चमा खर्च गरिन्छ ।
हुकुमबहादुर सिंहद्वारा लिखित र हालै प्रकाशित “माक्र्सवाद र एनजीओ«”ग्रन्थबाट साभार

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments