Wednesday, February 4, 2026
spot_img
Homeआर्थिकआर्थिक सुस्तताबीच नाफामा केही वाणिज्य बैंक

आर्थिक सुस्तताबीच नाफामा केही वाणिज्य बैंक

सेवासञ्चार, काठमाडौँ।

देशको अर्थतन्त्र अपेक्षित रूपमा चलायमान हुन नसकेको, निजी क्षेत्रको लगानी सुस्त रहेको र ठूला परियोजनाले गति लिन नसकेको अवस्थाबीच पनि वाणिज्य बैंकहरूले नाफा कायम राख्न सफल भएका छन्। बजारमा तरलता प्रशस्त रहे पनि कर्जा प्रवाह र लगानीको सन्तुलन मिल्न नसकिरहेको वर्तमान अवस्थामा बैंकिङ क्षेत्रको आम्दानी मिश्रित देखिएको हो।

दोस्रो त्रैमासिकको वित्तीय विवरणअनुसार २० वटा वाणिज्य बैंकले कुल ३० अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका छन्। बैंकिङ प्रणालीमा रहेको उच्च तरलता, ब्याज आम्दानी र आन्तरिक खर्च नियन्त्रणका कारण केही बैंकले आम्दानी बढाउन सफल भएका छन्। यस अवधिमा १० वटा वाणिज्य बैंकको नाफा बढेको छ भने बाँकी १० वटा बैंकको आम्दानी घटेको देखिन्छ।

नाफाका आधारमा नबिल बैंक अग्रस्थानमा रहँदा कुमारी बैंकले पनि उल्लेख्य आम्दानी गर्दै उच्च वृद्धिदर हासिल गरेको छ। अन्य केही बैंकले ब्याज आम्दानी, सेवा शुल्क तथा लगानीबाट प्राप्त प्रतिफलका कारण नाफा सुधार गरेका छन्।

यसैबीच, भदौ २३–२४ को जेन्जी आन्दोलनका क्रममा केही बैंक तथा वित्तीय संस्थामा तोडफोड, चोरी र लुटपाटका घटना भएपछि बैंकिङ क्षेत्रमा केही समय त्रासको वातावरण सिर्जना भएको थियो। त्यसको असर अल्पकालीन रहे पनि पछिल्लो समय बैंकहरू पुनः नियमित कारोबारतर्फ फर्किएको देखिन्छ।

कर्जा प्रवाहमा पछिल्लो समय केही सुधार देखिए पनि बजारमा थुप्रिएको रकमअनुसार कर्जा माग बढ्न सकेको छैन। उद्योग, व्यापार र निर्माण क्षेत्रबाट अपेक्षित लगानी नआउँदा पुँजीको प्रभावकारी उपयोग हुन नसकेको बैंकिङ क्षेत्रका जानकारहरूको भनाइ छ।

तर खर्चमुखी कारोबार भने केही बढेको देखिएको छ। विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूबाट प्राप्त रेमिट्यान्स र त्यससँग सम्बन्धित उपभोग खर्चले बैंकिङ कारोबारलाई केही हदसम्म चलायमान बनाएको छ।

अर्थविद्हरूका अनुसार राजनीतिक स्थिरता, नीतिगत स्पष्टता र लगानीमैत्री वातावरण निर्माण नभएसम्म ठूला लगानी र आर्थिक गतिविधिमा उल्लेख्य सुधार आउन कठिन छ। यस्तो अवस्थामा पनि केही वाणिज्य बैंक नाफामा रहनु बैंकिङ प्रणालीको स्थायित्वका दृष्टिले सकारात्मक पक्ष मानिएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments