काठमाडौँ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारी प्रक्रिया सम्पन्न भएको छ। माघ ६ गते मंगलबार देशभरका १सय ६५ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
यसमा ६८ राजनीतिक दलका २ हजार २ सय ९७ जना उम्मेदवार छन् भने स्वतन्त्र उम्मेदवार १ हजार १ सय ८७ जना रहेका छन्। विगतका निर्वाचनको तुलनामा यसपटक उम्मेदवारी संख्या उल्लेखनीय रूपमा बढेको छ। २०७९ को निर्वाचनमा २ हजार ४ सय ११ जनाको उम्मेदवारी दर्ता भएको थियो भने २०७४ मा १ हजार ९ सय ४४ जना प्रतिस्पर्धी थिए।
यसपटक ३ हजार ८८ पुरुष र ३सय ९५ महिला उम्मेदवार छन्। अन्य समूहबाट १ जना महिलाको उम्मेदवारी परेको छ। साथै,लैङ्गिक अल्पसंख्यक समुदायका ६ जनाले पनि मनोनयन दर्ता गरेका छन्।
उमेर समूहअनुसार, २५–३५ वर्षका ५ सय ८३ जना, ३५–५० वर्षका १ हजार ६ सय १० जनाको उम्मेद्वारी छ। ५१-६५ वर्ष उमेर समूहका १ हजार ९० जना उम्मेदवार रहेका छन्।
सबै निर्वाचन क्षेत्रमा उमेद्वारी दिनेमा नेपाली कांग्रेस र नेकपा एमाले छन्।यसैगरी,नेपाली कम्युनिस्ट पार्टी- १६४,राष्ट्रिय स्वतन्त्र पार्टी- १६३,राष्ट्रिय प्रजातन्त्र पार्टी- १६३,नेपाल मजदुर किसान पार्टी- १२१,श्रम संस्कृति पार्टी- १०९,उज्यालो नेपाल पार्टी- १०८,आम जनता पार्टी- १०२,जनता समाजवादी पार्टी- ९५,प्रगतिशील लोकतान्त्रिक पार्टी- ९२,जनमत पार्टी-६१ लगायत राजनीतिक दलले आफ्नो उम्मेद्वारी दिएका छन्।
यसपटक केही चर्चित नेताहरूले उम्मेदवारी दिएनन्। शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, धनराज गुरुङ, प्रकाशमान सिंह, डा. नारायण खड्का, शशांक कोइराला, गोपालमान श्रेष्ठ, बामदेव गौतम, झलनाथ खनाल, पम्फा भुसाल, युवराज ज्ञवाली, गोकुल बास्कोटा, रमेश लेखक, पशुपति शमशेर राणा लगायत करिब तीन दर्जन नेता चुनावी दौडबाट बाहिर बसेका छन्।
निर्वाचन आयोगका अनुसार, मनोनयन प्रक्रिया उल्लासमय र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। बुधबार र बिहिबार उजुरी र जाँचबुझ हुनेछ भने शुक्रबार उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने समय तोकिएको छ।
यसपटकको निर्वाचनबाट नयाँ अनुहारका प्रतिनिधिहरू संसदमा आउने अपेक्षा गरिएको छ।



