Wednesday, February 4, 2026
spot_img
Homeराजनीतिकाङ्ग्रेसलाई सुधार्ने अवसर

काङ्ग्रेसलाई सुधार्ने अवसर

काठमाडौ ।

भदौ २३ र २४ गतेको जेन – जी विद्रोहपछि नेपालका स्थापित राजनीतिक दलहरूले आफूलाई परिवर्तन गर्ने प्रयास गरिरहेका छन् । कतिपय दल परिवर्तनको बाटोमा अघि बढेका छन् भने कतिपय अझै आफूलाई बदल्न असफल देखिएका छन् । यही सन्दर्भमा नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र विगत तीन महिनादेखि चल्दै आएको बहस, छलफल र आन्तरिक टकरावका बीच पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना गरिएको छ । आज पुस २८ गते विशेष महाधिवेशनको बन्दसत्र हुँदै छ । बन्दसत्रमा पार्टीको विशेष महाधिवेशन कार्यविधि, नीति, नियम, विधान तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल हुनेछ र केही प्रस्तावहरू पारित गरिनेछन् । यस छलफलपछि पार्टीले नीति मात्रै परिवर्तन गर्ने कि नेतृत्वसमेत परिवर्तन गर्ने भन्ने विषयमा निर्णय गर्नेछ ।

यस अभियानका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यस विशेष महाधिवेशनबाट हुने कुनै पनि निर्णय आफूहरूलाई स्वीकार्य हुने बताएका छन् । विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिको उपस्थिति रहेकाले पार्टी सभापति शेरबहादुर देउवा राजनीतिक संकटमा परेका छन् र उनलाई सम्भावित वैधानिक संकटसमेत आइपर्न सक्ने अवस्था देखिएको छ ।

वि.स.२०७८ मा सम्पन्न पार्टीको १४औँ महाधिवेशनबाट शेरबहादुर देउवाले करिब ६० प्रतिशत मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका थिए । तर पार्टीलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको, नातावाद, परिवार र आफन्तको घेरामा परेको आरोप उनीमाथि निरन्तर लाग्दै आएको छ । जेन – जी विद्रोहका क्रममा उनी घाइते अवस्थामा हेलिकप्टरमार्फत उद्धार गरी सुरक्षित स्थानमा लगिएका थिए र उपचार गरिएको थियो । त्यही समयमा उनले जिम्मेवारीबाट अलग हुने घोषणा गरेका थिए । तर सिंगापुरमा उपचारपछि स्वदेश फर्किएर पुनः सभापतिको जिम्मेवारी सम्हालेपछि पार्टीभित्र उनीप्रतिको असन्तोष बढ्दै गयो र पहिले रहेको सहानुभूति पनि क्रमशः घट्दै गयो । यही पृष्ठभूमिमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पछिल्लो तीन महिनादेखि विशेष महाधिवेशनको माग गर्दै नेपाली कांग्रेसका करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सङ्कलन गरेका थिए । तर संस्थापन पक्षले त्यसलाई फर्जी भन्दै अस्वीकार गर्‍यो र यसप्रति कुनै चासो देखाएन ।

लोकतान्त्रिक पार्टीमा यति ठूलो सङ्ख्यामा हस्ताक्षर आउनुको कारण र आशय बुझ्नुपर्ने भए पनि संस्थापन पक्षले त्यसतर्फ ध्यान दिएन । यसैको परिणामस्वरूप विशेष महाधिवेशन आयोजना गरिएको हो । आयोजकका अनुसार आइतबार राति ९ बजेसम्म २ हजार ६६२ जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराइसकेका छन् । नेपाली कांग्रेसका कुल ४हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये ६० प्रतिशतभन्दा बढी सहभागी हुने विश्वास गरिएको छ ।

पुस २८ गते बन्दसत्रका क्रममा यदि पार्टी सभापति शेरबहादुर देउवाले कुनै ठोस समाधान प्रस्तुत गर्न सकेनन् भने यो हलले विकल्प खोज्न सक्ने सम्भावना छ । यसले नेतृत्व, नीति वा विधान परिवर्तन गर्ने निर्णय पनि गर्न सक्छ । गगन थापाले “नेपाली कांग्रेस दासहरूको पार्टी होइन, जिउँदा मान्छेहरूको पार्टी हो” भनेर घोषणा गरिसकेका छन्, जसले पार्टीभित्र नयाँ ऊर्जा प्रवाह भएको देखिन्छ । यदि सभापतिले निकास दिन सकेनन् भने यो विशेष महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचन गर्ने सम्भावना पनि छ। तर त्यसो हुन नसकेमा यो प्रयास ‘हात्ती आयो, हात्ती आयो फुस्सामै सीमित हुन सक्ने खतरा पनि उत्तिकै छ । त्यसैले नेतृत्व यस विषयमा सचेत देखिन्छ र हलबाट केही महत्वपूर्ण निर्णय आउने अपेक्षा गरिएको छ ।

महाधिवेशनका क्रममा संस्थापन पक्षका ३० जना केन्द्रीय सदस्यमध्ये २८ जना केन्द्रीय सदस्यको उपस्थिति रहनुले पनि यो विशेष महाधिवेशन साँच्चिकै विशेष रहेको संकेत गर्छ । यदि यो हलले देश, जनता र पार्टीलाई केन्द्रमा राखेर निर्णय गर्न सकेमा नेपाली कांग्रेस सैद्धान्तिक र वैचारिक रूपमा सशक्त भएर अघि बढ्न सक्छ । तर फेरि पनि शेरबहादुर देउवाकै नाममा चुनावमा जानुपर्ने अवस्था आयो भने नेपाली कांग्रेसले ठूलो राजनीतिक क्षति व्यहोर्नुपर्नेमा शंका छैन । बरु नेतृत्व परिवर्तन गरेर पार्टीलाई अगाडि बढाउन सके जनतामा पुनः विश्वास जगाउन सकिने सम्भावना बलियो छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही यथार्थ बुझेका कारण विशेष महाधिवेशनको माग गरेका थिए । संस्थापन पक्षले त्यसलाई बेवास्ता गरे पनि उनीहरूले साहसका साथ यो विशेष महाधिवेशन आयोजना गरे । गगन थापाको भनाइ—“नेपाली कांग्रेस दासहरूको पार्टी होइन, जिउँदा मान्छेहरूको पार्टी हो”—लाई पार्टीभित्र एउटा ऊर्जाका रूपमा लिइएको छ । अब हेर्न बाँकी छ—नेपाली कांग्रेसले आज के निर्णय गर्छ ।

धेरैको आशा र अपेक्षा भने यही छ कि नेपाली कांग्रेसले नयाँ नेतृत्वसहित आफूलाई पुनः स्थापित गर्नेछ र नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई सम्बोधन गर्दै जटिल अवस्थाबाट पार्टीलाई अगाडि लैजानेछ । यदि नेपाली कांग्रेस सशक्त रूपमा उभिन सक्यो भने, त्यो अन्य राजनीतिक दलहरूका लागि पनि परिवर्तनको सन्देश बन्न सक्नेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments