Tuesday, February 3, 2026
spot_img
Homeप्रेरक व्यक्तित्वडा. ठाकुरनाथ पन्तको स्मृति दिवस

डा. ठाकुरनाथ पन्तको स्मृति दिवस

एक छात्रालाई पूर्ण छात्रवृत्ति प्रदान

– भरतविक्रम ढकाल

काठमाडौँ ।

पूर्व अर्थसचिव तथा कृषि अर्थशास्त्री डा. ठाकुरनाथ पन्तको २४औँ स्मृति दिवस काठमाडौँमा सम्पन्न भएको छ। डा. ठाकुरनाथ पन्त स्मृति गुठीको आयोजनामा मङ्गलबार (माघ १३ गते) आयोजित कार्यक्रममा समाज, शिक्षा, न्याय र साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा मकवानपुर गढीकी १९ वर्षीया छात्रा सुश्री दिपा लामालाई व्यवस्थापन संकायमा चार वर्षे स्नातक अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्ने घोषणा गरिएको थियो। आर्थिक रूपमा कमजोर तर अध्ययनशील विद्यार्थीलाई उच्च शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यले उक्त छात्रवृत्ति प्रदान गरिएको गुठीले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व मुख्य न्यायाधीश शेषराज सिवाकोटीले डा. पन्त राष्ट्रप्रति समर्पित, इमानदार र कर्मठ व्यक्तित्व भएको उल्लेख गर्दै आर्थिक नीति निर्माणमा उहाँले पुर्‍याएको योगदानको स्मरण गर्नुभयो। साथै उहाँले डा. पन्तसँगको सम्बन्ध र आफ्ना केही स्मरणीय क्षणहरू पनि स्मरण गर्नुभयो।

बैंकिङ क्षेत्रमा लामो समय योगदान दिनुभएका वरिष्ठ बैंकर ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले डा. पन्तसँगको संगतका अनुभव सुनाउँदै उहाँको सरल स्वभाव, सादगीपूर्ण जीवनशैली र स्पष्ट विचारको प्रशंसा गर्नुभयो।

कार्यक्रममा प्रसिद्ध गायक शिशिर योगीले डा. विश्वनाथ बरालको रचना तथा संगीत रहेको ‘यो देशमा म एउटा मान्छे खोजिरहेछु’ बोलको देशप्रेमले भरिएको गीत प्रस्तुत गर्दै कार्यक्रमलाई सांगीतिक रंग दिनुभएको थियो।

केशव भेटवाल (धर्तीचन्द्र यात्री)को उद्घोषणमा सम्पन्न कार्यक्रममा गुठी सञ्चालक समिति सदस्य बिन्दु पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा गुठीकी संरक्षिका सुष्मा पाण्डे सहित सञ्चालक समितिका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

सो अवसरमा ‘डा. ठाकुरनाथ पन्त स्मृति गुठी : संक्षिप्त परिचय एवं गतिविधि–एक झलक’ शीर्षकको पुस्तिका विमोचन गरी सार्वजनिक गरिएको थियो। प्रमुख अतिथि तथा अन्य अतिथिहरूले संयुक्त रूपमा उक्त पुस्तिका विमोचन गर्नुभएको थियो।

यसैगरी ज्ञानगुन प्रकाशनद्वारा प्रकाशित ज्ञानगुनका कुरा भाग–२०५ (काजी कालु पाँडे स्मृति अङ्क–१) पनि सार्वजनिक गरिएको थियो। यस स्मृति अङ्ककी प्रमुख संरक्षिका ओमकुमारी शिवाकोटी रहनुभएको छ भने सम्पादन पूर्व मुख्य न्यायाधीश शेषराज सिवाकोटीले गर्नुभएको हो। न्याय सेवामा लामो समय योगदान गर्नुभएका सिवाकोटीले समाजमा योगदान पुर्‍याएका व्यक्तित्वलाई विगत लामो समयदेखि पुस्तकमार्फत जीवन्त राख्ने कार्य गर्दै आउनुभएको छ।

वि.सं. २०५९ मा स्थापना भएको डा. ठाकुरनाथ पन्त स्मृति गुठीले प्रत्येक वर्ष स्मृति दिवस कार्यक्रम आयोजना गर्दै आएको छ। हाल गुठीले १६ लाख रुपैयाँको अक्षय कोष स्थापना गरी त्यसको ब्याजबाट सामाजिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

गुठीले स्थापना यता बर्दिया सानोश्रीका युवक माध्यमिक विद्यालयका पाँच जना र शुक्र माध्यमिक विद्यालयका आठ जना गरी १३ जना विपन्न बालबालिकालाई छात्रवृत्ति तथा पोशाक प्रदान गरिसकेको छ। साथै कन्यामन्दिर उच्च माध्यमिक विद्यालयलाई बास्केटबल कोर्ट निर्माणका लागि आर्थिक सहयोग, चित्रकला प्रतियोगिता तथा मिथिला कला प्रतियोगिता जस्ता कार्यक्रम पनि सम्पन्न गरेको बताइएको छ।

कार्यक्रमको समापन गर्दै गुठीका अध्यक्ष तथा सभापति सीताराम थपलियाले डा. पन्तको योगदान स्मरणीय रहेको उल्लेख गर्दै उहाँका विचार र आदर्शलाई भावी पुस्तासम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments