Wednesday, February 4, 2026
spot_img
Homeअन्तरास्ट्रियचीनले बनायो विश्वकै लामो सुरुङ मार्ग

चीनले बनायो विश्वकै लामो सुरुङ मार्ग

एजेन्सी |
चीनले फेरि एकपटक विश्व इन्जिनियरिङ क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको छ। उत्तर–पश्चिम चीनको सिनजियाङ क्षेत्रस्थित २२ दशमलव १३ किलोमिटर लामो तियानशान शेङ्ली सुरुङ औपचारिक रूपमा सञ्चालनमा आएको छ, जससँगै यो विश्वकै सबैभन्दा लामो सञ्चालन राजमार्ग सुरुङ बनेको छ।
तियान शान पर्वतमालाको गर्भबाट निर्माण गरिएको यो सुरुङ उरुम्की–युली एक्सप्रेसवेको मुख्य खण्ड हो। यसले सिनजियाङका उत्तरी र दक्षिणी भूभागलाई सिधा र वर्षभरि सञ्चालनयोग्य सडकमार्गमार्फत जोड्नेछ। यसअघि यस क्षेत्रमा यात्रा दूरी, उचाइ र कडा हिमपातका कारण निकै कठिन मानिन्थ्यो।
सुरुङ सञ्चालनमा आएपछि यसले युरोपका अल्पाइन क्षेत्र तथा स्क्यान्डिनेभियन मुलुकहरूमा रहेका लामो राजमार्ग सुरुङहरूको रेकर्ड तोडेको हो। चिनियाँ अधिकारीहरूका अनुसार यो हाल विश्वमै सबैभन्दा लामो सञ्चालनमा रहेको राजमार्ग सुरुङ हो।
तियानशान शेङ्ली सुरुङ निर्माणका क्रममा इन्जिनियरहरूले अत्यन्तै चुनौतीपूर्ण भूगोलको सामना गर्नुपरेको थियो। भूगर्भीय रूपमा अस्थिर जमिन, उच्च चट्टानी दबाब, तापक्रमको तीव्र उतार–चढाव र अप्रत्याशित भूजलका कारण परियोजना जटिल बनेको थियो।
सुरुङमा दुईवटा अलग–अलग ट्यूब निर्माण गरिएको छ, जसमा प्रत्येक ट्यूबमा दुई लेनको सवारी साधन सञ्चालन गर्न सकिने व्यवस्था छ। सुरक्षाका लागि आधुनिक अनुगमन प्रणाली, आपतकालीन निकास तथा दीर्घकालीन मर्मतसम्भारलाई ध्यानमा राखेर संरचना तयार गरिएको छ।
यो सुरुङले सिनजियाङ क्षेत्रको यातायात प्रणालीलाई नयाँ आयाम दिने विश्वास गरिएको छ। व्यापार, आवागमन र पर्यटन प्रवर्द्धनसँगै यसले क्षेत्रीय आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै, संवेदनशील भौगोलिक क्षेत्रमा यस्तो विशाल पूर्वाधार सम्पन्न हुनु चीनको प्राविधिक क्षमता र रणनीतिक पहुँचको संकेतका रूपमा पनि हेरिएको छ।
तियानशान शेङ्ली सुरुङसँगै चीनले विश्वस्तरमा दीर्घ राजमार्ग सुरुङ निर्माणमा आफ्नो अग्रणी स्थान पुनः पुष्टि गरेको छ। एजेन्सीको सहयोगमा।
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments