– १० लाख क्षतिपूर्ति र ५ लाख अन्य खर्च
सेवासञ्चार
काठमाडौं, ३० भाद्र
सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारलाई क्षतिपूर्ति बापत १५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिबापत १० लाख र अन्य खर्च ५ लाख गरी कुल १५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
यसअघि आइतबार मृतकका परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने र शहीद घोषणा गर्ने निर्णय सरकारले गरेको थिया ।
क्षतिपूर्ति वापतको उक्त रकम अर्थ मन्त्रालयमार्फत गृह वा सम्बन्धित जिल्ला प्रशासनबाट वितरण गरिने उनको भनाइ छ । गृहमन्त्री अर्यालका अनुसार आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था सरकारले गर्नेछ ।
आन्दोलका क्रममा मृत्यु भएकाको शव सम्बन्धित स्थानमा पुर्याउनका लागि सवारीसाधनको व्यवस्था पनि सरकारले मिलाउने उनले बताए । दुर्गमको हकमा भने हेलिकप्टर मार्फत मृतकको शव सम्बन्धित ठाउँमा पुर्याइनेछ । साथै दाहासंस्कारमा समेत सरकारले सघाउने उनले बताए ।
२३ र १४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा देशभरि ७२ जनाले ज्यान गुमाएका छन् भने २ हजार ३१६ जना घाइते भएका छन् । देशका विभिन्न अस्पतालमा २८३ जना घाइतेहरू अझै उपचाररत छन् ।
यस्तो छ मन्त्रिपरिषद्ले गरेका निर्णय :
१. मृतकलाई शहीद घोषणा, राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने ।
२. असोज १ मा शोक दिवस, सार्वजनिक बिदा दिने ।
३. घाइतेको निःशुल्क उपचार, मृतक परिवारलाई १५ लाख राहत उपलब्ध गराउने ।
४. आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग बनाइने ।
५. जेनजी स्मृति पार्क निर्माण गर्ने ।
६. ओली मन्त्रिपरिषद्मा आएका सबै प्रस्ताव मन्त्रालयमै फार्काउने ।