– सेनाले लियो सुरक्षा जिम्मेवारी
सेवासञ्चार
काठमाडौं, २५ भाद्र
काठमाडौं उपत्यकालगायतका विभिन्न सहरको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन भएपछि जनजीवन क्रमशः सामान्य बन्दै गएको हो ।
नेपाली सेनाले अत्यावश्यक कामबाहेक अवस्थामा घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ । ऐतिहासिक, सामाजिक, सांस्कृतिक, धार्मिकस्थल तथा व्यक्तिगत सम्पत्तिको सुरक्षामा सबै सुरक्षा निकाय तैनाथ भएकाले अवाञ्छित गतिविधि हुन लागेको जानकारी पाएमा तत्काल सुरक्षा फौजलाई खबर गर्न पनि सेनाले आग्रह गरेको छ ।
हाल काठमाडौं उपत्यकाका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । यद्यपि मानिस र सवारीसाधनको उपस्थिति न्यून छ । मंगलबार प्रदर्शनकारीले सार्वजनिक र निजी सम्पत्तिमा लगाएको आगो निभाउने प्रयासमा सुरक्षाकर्मी लागिरहेका छन् । सर्वोच्च अदालतमा हिजो लागेको आगो निभाउन काठमाडौं महानगरको अग्नि नियन्त्रक टोली (दमकल) खटिएको छ ।
त्यस्तै नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा मंगलबार दिउँसो लगाइएको आगो आज बुधबार बिहानसम्म पनि बलिरहेको छ । २०७२ को भूकम्पपछि रेट्रोफिट गरी केही वर्षअघि मात्र निर्माण सम्पन्न भएका संरचनासमेत अहिले खण्डहरमा परिणत भएका देखिन्छन् ।
मंगलबार आन्दोलनकारीले आगजनी गर्दा कर्णाली प्रदेशसभा भवनका सबै संरचना जलेर ध्वस्त भएका छन् । आगजनीका कारण सभा हल, सभामुख र उपसभामुखको कार्यकक्ष, सचिवालय र संसदीय समितिका कार्यालयमा क्षति पुगेको छ । आगजनीबाट सम्पूर्ण कागजात, डकुमेन्ट, रेकर्ड, प्राविधिक सामग्री र फर्निचर जलेर नष्ट हुँदा अर्बौंको क्षति भएको अनुमान छ ।
नेपाली सेनाले पोखराको सडकमा पनि सुरक्षा दिन थालेपछि जनजीवन केही सामान्य बनेको छ । जिल्लाका सरकारी निकायलगायत संवेदनशील क्षेत्रमा सेनाले कडाइ गरेको छ । कर्फ्यु आदेश जारी भएकाले सर्वसाधारणलाई सुरक्षितरूपमा आवतजावत गर्न र सकेसम्म घरमै बस्न सेनाले आग्रह गरिरहेको छ ।
मंगलबार दिनभर प्रदर्शनकारीले तोडफोड र आगजनी गरेपछि राति १० बजेदेखि नै नेपाली सेना परिचालित भएको थियो । सेना परिचालित भएपछि पोखरामा जलिरहेका सरकारी कार्यालयहरूमा लागेको आगो निभाउन अग्रसर भएको थियो ।