सेवासञ्चार
काठमाडौं, १८ भाद्र
अगामी कात्तिक १७ गते रुपन्देही–३ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनप्रति राजनीतिक दलहरूको ध्यान बिस्तारै बढ्न थालेसँगै कुन पार्टीबाट को उम्मेदवार बन्छ भन्ने चासो आम जनतामा बढ्न थालेको छ । २०७९ सालको निर्वाचनमा निर्वाचित राप्रपाका नेता दीपक बोहराको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागको हो ।
उपनिर्वाचन मिति नजिकिएसँगै दलहरू उक्त क्षेत्र आफ्नो कब्जामा पार्न आन्तरिक रणनीतिमा जुटेका छन् । उनीहरुको ध्यान जनताको मन जित्ने उम्मेदवारको खोजीमा छ । त्यसका लागि तालमेल गर्नेदेखि एकल उम्मेदवारका लागि बलियो उम्मेदवार खोजीमा दलहरु लगिपरेका छन् ।
यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा नेपाल र जनमत पार्टी लगायतका दलले उम्मेदवार नै तय गरिसकेका छन् भने राप्रपाले उम्मेदवार छनोट प्रक्रिया मात्र सुरु गरेको छ । तर, ठूला भनिएका राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायतका दलले उम्मेदवार छनोटका लागि आन्तरिक तयारी गरे पनि नाम सार्वजनिक गरिसकेका छैनन् । एक हिसाबले उम्मेदवार घोषणामा साना दलभन्दा ठूला दल पछाडि परेका देखिन्छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गत आइतबार आफ्ना उम्मेदवारको घोषणा गरेको छ, जसमा डा. लेखजंग थापा छन् । यस्तै कमल थापा नेतृत्वको राप्रपा नेपालले अर्जुन थापालाई उम्मेदवार बनाउने भएको छ । राप्रपा नेपाल लुम्बिनी प्रदेशले जिल्लाबाट सिफारिस भएका ३ जनामध्ये थापालाई सिफारिस गरेपछि उनी नै उम्मेदवार हुने सो पार्टीले जनाएको छ । उम्मेदवारका लागि सिफारिस थापा राप्रपा नेपालको रुपन्देही जिल्ला अध्यक्ष हुन् ।
यस्तै अर्को दल सीके राउत नेतृत्वको जनमत पार्टीले पनि आफ्नो उम्मेदवार टुंग्याएको छ । जनमतले धनीराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । चौधरी रुपन्देहीको सियारी गाउँपालिका–२ निवासी हुन् । गत २०७९ को निर्वाचनमा चौधरी नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देही क्षेत्र नम्बर १ मा उम्मेदवार बनी १३ हजार ९६२ मतका साथ चाैथाे स्थानमा रहन सफल भएका थिए । उनी केही साता पहिला मात्र जनमत पार्टीमा प्रवेश गरेका थिए । उक्त क्षेत्रमा नेकपा एकीकृत समाजवादी, संघीय लोकतान्त्रिक मोर्चा, नाउपालगायतले पनि उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।