सेवासञ्चार
काठमाडौं, १६ भाद्र
डा. लेखजंग थापा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रुपन्देही ३ मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्राइमरी इलेक्सनमार्फत उनलाई उम्मेदवार घोषणा गरिएको हो ।
पेसाले चिकित्सक डा. थापालाई रास्वपाले आइतबार उम्मेदवार बनाएको घोषणा गरेको हो । वरिष्ठ न्युरोलोजिस्ट र सामाजिक अभियन्ता थापाले १६ वर्षभन्दा बढी समय न्युरो साइन्समा बिताएका छन् । उनले स्ट्रोकको उपचार, निदान र सचेतनाका लागि काम गरेका छन्, र उनले हजारौं स्वास्थ्यकर्मीलाई तालिम दिएका छन् ।
रुपन्देहीको सिद्धार्थनगर–९, अञ्चलपुरमा जन्मिएका डा. थापा प्राइमरी इलेक्सन, लिडरशिप एकेडेमी, पोलिटिकल प्रोग्जोमिटीमा विधिबाट अन्य ८ जनालाई पछि पार्दै उम्मेदवार छनोट हुन सफल भएका हुन् ।
उपनिर्वाचनका लागि सिद्धार्थनगर–९ का थापासहित सुलभ खरेल (बुटवल–१६), पार्थिवेन्द्र उपाध्याय (सिद्धार्थनगर–७), ज्ञानु पौड्याल (सिद्धार्थनगर–८), जीतबहादुर गुप्ता (सिद्धार्थनगर–१), कुसुम महर्जन (मध्यपुर ठिमी–६ भक्तपुर), रचना क्षेत्री (सिद्धार्थनगर–३), पुनमकुमारी अग्रवाल (सिद्धार्थनगर–८) र मधुप्रसाद अर्याल (बुटवल–१७ रुपन्देही) आकाङ्क्षी रहेका थिए । उनीहरुमध्ये थापा रास्वपाको प्राइमरी इलेक्सनबाट निर्वाचित भएका हुन् ।
यद्यपि लेखजंग थापाले बहुविवाह गरेका र सो कुरालाई ढाकछाप गरेकाे समाचार बाहिर आएका छन् । यदि उनले साँच्चै बहुविवाह गरेको भन्ने प्रमाणित भएमा भने पार्टीले उनकाे उम्मेदवारी खोस्ने सम्भावना पनि छ ।