सेवासञ्चार
काठमाडौं, ११ भाद्र
नेपाल शिक्षक महासंघले आफ्ना माग पूरा गर्ने सम्बन्धमा सरकारलाई दबाब दिन विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ । गत चैत्र १९ गतेदेखि २९ दिनसम्मको सडक आन्दोलनबाट शिक्षकका पक्षमा शिक्षा विधेयक पारित हुने अपेक्षा पूरा नहुने भएपछि फेरि आन्दोलनको क्रममा रहेको छ ।
गत चैतको आन्दोलन निर्णायक भन्दै शिक्षकहरु सडकमा उत्रिएर सरकारलाई वार्तामा आउन बाध्य पारे । आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति पनि भयो । तर संसद्मा विचाराधीन शिक्षा विधेयकमा आफूले भनेजस्तो नभएको पाएपछि शिक्षक महासंघ फेरि तातिएको छ ।
आन्दोलनरत नेपाल शिक्षक महासंघले बुधबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् ।
विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै शिक्षक महासंघ भदौ ९ गतेदेखि आन्दोलनमा छ । राजनीतिक दलका प्रमुख सचेतकहरूलाई ध्यानाकर्षण पत्र दिनेदेखि पार्टी कार्यालयहरूमा धर्ना दिनेसम्मका कार्यक्रम छन् ।
आन्दोलनको कार्यक्रमअन्तर्गत शिक्षक महासंघले बुधबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयको ढोकैमा धर्ना दिएका हुन् । बुधबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कांग्रेस कार्यालयमा शिक्षकहरूले धर्ना दिने कार्यक्रम छ ।
उनीहरूले भदौ १२ गते नेकपा (एमाले)को केन्द्रीय कार्यालय च्यासल र भदौ १३ गते नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा धर्ना दिने कार्यक्रम तय गरेका छन् ।
विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भई प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस भइसकेको छ । प्रतिनिधि सभाबाट पारित भएर विधेयक राष्ट्रिय सभामा जाने र त्यहाँबाट पारित भई अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ । विधेयक प्रमाणीकरण भएपछि ऐनको रूप लिनेछ । तर उक्त विधेयकले शिक्षकसँग सरकारले पटकपटक गरेका सहमतिको सम्बोधन नभएको शिक्षक महासंघको ठहर छ ।