सेवासञ्चार
काठमाडौं, ११ भाद्र
नेपाली कांग्रेसकी सांसद् ईश्वरीदेवी न्यौपाने प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा निर्विरोध निर्वाचित भएकी छिन् । समिति सभापतिमा उनको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएकी हुन् ।
उनले आज बुधबार पद तथा गोपनीयताको शपथ लिएकी छन् । सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित संघीय संसद् सचिवालयको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा न्यौपानेलाई शपथ गराएका हुन् ।
न्यौपाने कांग्रेसबाट समानुपातिक तर्फकी सांसद् हुन् । उनलाई यसअघि कांग्रेसले प्रतिनिधिसभाको उपसभामुख पदमा पनि उम्मेदवार बनाएको थियो । उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरसँग उपसभामुखमा पराजित भएकी थिइन् ।
न्यौपाने संविधानसभाको दुई कार्यकाल (२०६४ र २०७०) मा पनि संविधानसभा (प्रतिधिनिसभा) सदस्य थिइन् । २०७० सालको कार्यकालमा न्यौपाने कांग्रेसको सचेतक भएर पनि काम गरेकी थिइन् । कांग्रेस केन्द्रीय सदस्य न्यौपानेले नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेकी थिइन् ।
यसअघिका सभापति रामहरि खतिवडाले कुलिङ अफ पिरियडसम्बन्धी विवादमा मुछिएपछि गत २८ साउनमा सभापति पदबाट राजीनामा दिएका थिए ।