सेवासञ्चार
काठमाडौं, ११ भाद्र
उखु किसानलाई प्रोत्सहान तथा अनुदान वापत उपलब्ध गराइने रकम सरकारले निकासा गरेको छ । अर्थ मन्त्रालयले मंगलबार यस वापत ७५ करोड ४९ लाख ३८ हजार २सय ४० रुपैया निकासा गरेको हो ।
निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खाता मार्फत भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठकले यसपटक उखु किसानलाई प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण जनाउँदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाइ गरेको थियो ।
सरकारले आर्थिक वर्ष २०८१/०८२को बजेटमा व्यवस्था गरेअनुरुप प्रतिक्विन्टल ७० रुपैयाँका दरको अनुदानको रकम प्राप्त हुन नसक्दा उखु किसानले काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका थिए । कृषि मन्त्रालयले उखु किसानलाई यति नै रकम उपलब्ध गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लगेको भए पनि मुलुकको आर्थिक अवस्था, आवश्यकताका आधारमा ३५ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको थियो । तर उखु किसानले भने प्रतिक्विन्टल ७० रुपैयाँ नै पाउनुपर्ने माग गर्दै आन्दोलन यथावत् राख्ने बताएका छन् ।