Monday, September 15, 2025
spot_img
Homeअध्यात्म र दर्शनऋषितर्पणी पर्व मनाइँदै

ऋषितर्पणी पर्व मनाइँदै

– रक्षासूत्र धारण गरी संकटमुक्तिको कामना
– क्वाँटी खाई स्वास्थ्यलाभ गर्ने परम्परा

सेवासञ्चार
काठमाडौं, २४ साउन

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने ऋषि तर्पणी पर्व (जनै पूर्णिमा) आज (शनिबार) देशभर नूतन यज्ञोपवीत धारण गरी मनाइँदै छ । यसै दिन रक्षासूत्र (रक्षाबन्धन) धारण गरी विभिन्न संकटबाट मुक्तिको कामना गरिन्छ भने क्वाँटी (विभिन्न प्रकारका गेडागुडी उमारेर बनाइएको परिकार) खाई स्वास्थ्य लाभ गरिँदै छ ।

जनै पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने गर्दछन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) तागाधारी (यज्ञोपवीत धारण गर्ने)ले धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

आजका दिन क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवम् शास्त्रीय मान्यता छ । क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुन्छ भन्ने मान्यता रहिआएको छ ।

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदी बहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । अहिले यो परम्परा पहाडी क्षेत्र तथा उपत्यकालगायत मुलुकभर फैलिँदै गएको छ ।

काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायतका विभिन्न ताल, पोखरी र कुण्डमा आज बिहानैदेखि दर्शनार्थीको मेला लागेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments