Monday, September 15, 2025
spot_img
Homeराष्ट्रियराष्ट्रिय कोदो दिवस मनाइँदै

राष्ट्रिय कोदो दिवस मनाइँदै

– प्रधानमन्त्रीको शुभकामनादेखि कृषिमन्त्रीको रोपणसम्म

सेवासञ्चार

काठमाडौं, साउन १६

आज साउन १६गते मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय कोदो दिवस मनाइँदै छ । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना दिएका छन् भने कृषिमन्त्री रामनाथ अधिकारीले बारी खनेर कोदो रोपेका छन् । कोदोको बहुउपयोगी गुणलाई जनतासमक्ष ल्याउन सरकारले यस वर्षदेखि साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रुपमा मनाउन थालेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै उत्पादन बढाउन र कोदोका परिकारहरू उपभोग गर्न आव्हान गरेका छन् । उनले भनेका छन्, ‘कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र नभई यसको पोषणीय महत्वसमेत रहेको छ ।’

‘ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, यसमा हुने फाइबरले हृदय स्वास्थ्य मजबुत बनाउन मद्दत गर्छ’, प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘सिँचाइ बिना नै उत्पादन हुन सक्ने यस्तो गुणकारी खाद्यान्नलाई प्रवद्र्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको छ ।’

उनले कोदोको उत्पादन बढाउन र यसका परिकार उपभोग गर्न सुझाव समेत दिएका छन् ।
‘कोदो उत्पादन बढाऔँ, कोदोका परिकारहरू उपभोग गरौँ ! कोदो दिवसको शुभकामना !’, उनले शुभकामना दिँदै भनेका छन् ।

त्यस्तै कृषिमन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भक्तपुरको ताथलीमा कोदो दिवस मनाइएको छ । कार्यक्रममा कृषिमन्त्री अधिकारीले बारी खनेका थिए भने कोदो पनि रोपेका थिए । गत वर्ष २ लाख २५ हजार हेक्टरमा भएको कोदो खेतीबाट तीन लाखभन्दा बढी मेट्रिक टन उत्पादन भएकामा यस वर्ष त्यो तथ्यांकमा उल्लेख्य रुपमा वृद्धि गर्ने गरी सरकारले कार्यक्रम अघि बढाएको मन्त्री अधिकारीले कार्यक्रममा बताए ।

कोदो दिवस मनाउन कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरिएको थियो । पहिलो कोदो दिवसको नारा ‘कोदोजन्य परिकारको आहार : खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments