– ऋषिराम ढकाल
हरेक वर्षको साउन ६ र ७ गते नेपालका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लागि विशेष दिन बन्दै आएको छ । साउन ६ गते नेपालको राजनीतिका धरोहर, नेपाली कांग्रेस पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बिपी कोइराला)को देहावसान भएको दिन हो र सोको स्मरणमा नेपाली कांग्रेसले विभिन्न कार्यक्रम गरी बिपी स्मृति दिवस मनाउँदै आएको छ ।
त्यस्तै साउन ७ गते नेपालको राजनीतिका सशक्त योद्धा, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको देहावसान भएको स्मरणमा नेकपा एमालेले विभिन्न कार्यक्रमको आयोजना गर्ने गर्छ । यी दुवै नेता नेपालको राजनीतिका स्तम्भ हुन् भन्ने विषयमा दुईमत छैन । यी दुवै पार्टीले आफ्ना नेताको सम्झनामा यसै हप्ता विविध कार्यक्रमको आयोजना गरे । नेताको चिन्तनलाई कार्यान्वयनमा ल्याइएको दाबी पनि गरे । तर, यी दुई नेताको नाममा प्रमुख राजनीतिक दलले जनताका लागि के गरे त भन्ने विषयमा सोच्न बाध्य बनाएको छ । स्वार्थबाट माथि उठेर आफ्ना नेताको भावनाको कदर गर्न सकेको महसुस जनताले गर्न सकेका छैनन् ।
बिपी कोइरालाले प्रजातान्त्रिक विचारधारासहित समाजवादी चिन्तनलाई आत्मसात गर्दै जनताको हितका लागि कानुन बन्नुपर्ने पक्षमा आजीवन वकालत गरे । त्यस्तै पुष्पलाल श्रेष्ठले प्रगतिशील विचारधारासहित वर्ग संघर्षको चिन्तनलाई स्वीकार गर्दै क्रान्तिकारी सोचका साथ कम्युनिष्ट विचार अँगाले । दुवैको राजनीतिको लक्ष्य भनेको नेपालमा शान्ति सुरक्षा कायम होस्, जनताले स्वतन्त्रताको अनुभूति गर्न पाऊन् र कसैको थिचोमिचोमा दास बनेर बस्न नपरोस् भन्ने नै देखिन्छ । तर, तिनै नेताका सिद्धान्तलाई हतियार बनाएर जनताको मत पाएका नेपालका वर्तमान प्रमुख राजनीतिक दलहरुले आफ्ना नेताका सिद्धान्तलाई कतिको अनुसरण गरेका छन् त ? वर्षमा एक दिन गुणगान र सम्झना गर्ने अनि बाँकी दिनमा स्वार्थी खेलमा डुबेर जनताको मौलिक हकअधिकारसमेत हनन गर्न उद्यत भएका नेतालाई जनताले राम्रै ठान्नुपर्ने हो ? होइन, जनताले ती पार्टीलाई हेर्ने नजर परिवर्तन गरिसकेका छन् ।
बिपीको सिद्धान्तलाई अक्षरशः पालना गर्नुपर्छ भन्ने सिद्धान्तनिष्ठ कार्यकर्ता राजनीतिक शक्तिको तारो बन्न पुगेका छन् । उता पुष्पलालको चिन्तनलाई स्वार्थमा मिलाएर कम्युनिष्ट पार्टी नै विभिन्न चिरामा टुक्रिसकेको छ । उनको सिद्धान्तलाई पछ्याउने पार्टी कुन हो त भन्ने छुट्याउन पनि गाह्रो भइसकेको छ । केलब ‘मेरो बाउले घिउ खाएथे मेरो हात सुँघ सुँघ’ भन्ने उखानलाई चरितार्थ गर्नुबाहेक वर्तमानका प्रमुख राजनीतिक दलले केही गरेको पाइँदैन । आफ्नै नेताको सिद्धान्तलाई कुल्चिएर त्यसैको वकालत गरी स्वार्थमा लुटपुटिने लाजमर्दो गतिविधि गरिरहेका छन् ।
अहिले ‘मिसन ८४’ को नारालाई सबैजसो राजनीतिक दलले आफ्नो मुद्दा बनाएका छन् । ८४ सालमा हुने आम निर्वाचनमा जसरी पनि आफ्नो पार्टी बलियो हुनुपर्छ भन्ने भ्रामक धारणा व्यक्त भइरहेका छन् । जनताको सेवाको विषयमा कुनै पार्टीका नेतालाई चासो छैन, केबल आफ्नो पार्टीको जित चाहिएको छ । विकास निर्माणका योजना त्यस्तै मिसन लक्षित बनेका छन् । आफ्नो पार्टीको पकडलाई अझ बलियो बनाउने सोच र योजनाबाट राजनीतिक दलहरु मथि उठ्न सकेका छैनन् । यस्तो सोच सबै राजनीतिक दलमा व्याप्त हुनुले नेपालको राजनीतिक अस्थिरता अझै लम्बिने संकेत गरेको छ ।
निर्वाचन जनताको अभिमतलाई कदर गर्ने सुअवसर हो । मतमार्फत जनताको मत जितेर सेवा गर्ने अवसरका रुपमा लिनुपर्ने हो । तर विगतका केही निर्वाचनको अवस्था र परिणामलाई हेर्ने हो भने निर्वाचन केबल बलिया (मनी, माइन्ड, म्यान, मसल्स)को पकडलाई आधिकारिकता दिने अवसर मात्र हो । स्वच्छ र निश्पक्ष निर्वाचनको वकालत नै हुन छाडिसक्यो । जसले सक्यो सक्यो भन्ने भइसक्यो । जनता मताधिकारको उपयोग किन गर्ने भन्ने मनस्थितिमा पुगिसकेका छन् । अर्थात् जसलाई जिताए पनि उस्तै हो भन्ने आम नागरिकको धारण बनिसकेको छ । यसले राजनीतिक शक्तिप्रति जनताको वितृष्णालाई उजागर गर्छ । यस्तो राजनीतिक वितृष्णको भावलाई सरकारमा रहेका वा अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ताले चिर्न सक्नुपर्ने हो ।
यसरी हेर्दा नेपालका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले आफ्नो संस्थापक नेताको गुणगान गाएर निरन्तर शक्ति हत्याउने चालबाजी कायमै राखेका छन् । आफ्ना नेताको सपनालाई पूरा गर्ने बाचा भुलिरहेका छन् । नेतालाई देखावटी माध्यम बनाएर स्वार्थको जालो बुनिरहेका छन् । यसो गर्दा केही समय जनतालाई अलमल्याउन सकिएला, आफ्नो स्वार्थ पूरा गर्न सकिएला । तर, सधैं सकिँदैन, मु्लुकमा शान्ति स्थिरता र विकासलाई प्राथमिकतामा दिई नेपाली जनताको समृद्धिको चाहनालाई पूरा गर्न सकिँदैन । कुनै पनि बेला शक्तिहीन भई पार्टीको अस्तित्व जोगाउनै मुस्किल पर्ला । त्यतिबेला ती श्रद्धेय नेताले धिक्कार्ने बाहेक केही गर्न सक्नेछैनन् । बेलैमा सचेत हुनु श्रेयस्कर छ ।