सेवासञ्चार
काठमाडौं, साउन ४
देशका विभिन्न भागमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपणसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित रहन अनुरोध गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) दिउँसोदेखि देशको विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । उक्त जानकारीका आधारमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै जनसाधारणलाई सुरक्षित रहन अपिल गरेका हुन् ।
‘मौसम विज्ञान विभागले आज (आइतबार) दिउँसो देशको विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेको छ, मौसमजन्य विपद्बाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौं, अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु’, ओलीले लेखेका छन् ।
प्रधानमन्त्रीले सुरक्षाकर्मीलाई पनि आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई सक्रिय रहन आग्रह गरिएको छ ।
यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साउन ३ गते शनिबार रातिदेखि ५ गते सोमबारसम्म देशको विभिन्न स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको थियो । विपद् जोखिम न्यूनीकरण विज्ञहरुले लगातारको वर्षाले जोखिम बढ्ने भन्दै पहिरो, डुबान सम्भावित क्षेत्रमा बसोबास गर्नेहरूलाई सचेत रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न सुझाव दिएका छन् ।
देशका केही क्षेत्रमा पछिल्ला दिनमा आएको भारी वर्षाले जनजीवन प्रभावित बनेको छ । केही ठाउँमा पहिरो खस्दा बाटो अवरुद्ध भएका छन् । सरकारले विपद्को जोखिम कम गर्न आवश्यक सबै तयारी भइरहेको जनाएको छ । सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय स्वयंसेवकहरू तयारी अवस्थामा राखिएको जनाइएको छ ।
मौसम पूर्वानुमान शाखाले जारी गरेको विज्ञप्तिमा के छ ?
आगामी २४ घण्टाको पूर्वानुमान
विज्ञप्ति जारी मिति २०८२ साउन ०४ गते (आइतबार) बिहान ०६ बजे
-
आज दिउँसो
देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।
-
आज राती
देशभर साधारणतया बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।
मौसम विज्ञान विश्लेषण
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ ।