Thursday, May 22, 2025
spot_img
Homeलेखराजनीतिक प्रवृत्ति,अस्थिरता र परिणाम - भरतविक्रम ढकाल

राजनीतिक प्रवृत्ति,अस्थिरता र परिणाम – भरतविक्रम ढकाल

नेपालमा लोकतान्त्रिक गणतन्त्र प्राप्त भइसकेपछि यो व्यवस्थाले राजनीतिक स्थिरता दिन सक्छ भन्ने धेरैको चाहना थियो।
लामो समयदेखिको नेपाली जनताको चाहना बमोजिम यो व्यवस्था ल्याइएको थियो।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपालमा पूर्ण प्रजातन्त्र ल्याउनुपर्छ भनेर बारम्बार आफ्ना अभिव्यक्ति दिइरहेका थिए।
यो पूर्ण प्रजातन्त्र भनेको वास्तवमा लोकतान्त्रिक गणतन्त्र नै हो, जसलाई लोकतान्त्रिक पुँजीवादी व्यवस्था पनि भनिन्छ।
गिरिजाप्रसाद कोइरालाले भनेअनुसारकै व्यवस्था प्राप्त भएको छ। तर यो व्यवस्था प्राप्त भइसकेपछि के भयो त भन्ने सम्बन्धमा धेरै नागरिकले आआफ्नै प्रकारका अनुभव गरिरहेका छन्।
धेरै नागरिकको मनमा यो देशमा भ्रष्टाचार बढ्यो, अन्याय र अत्याचार बढ्यो भन्ने छ।
पछिल्लो समय नेपालमा भ्रष्टाचारका विभिन्न काण्ड सार्वजनिक भएका छन्। निकै लामो श्रृङ्खला बोकिसकेको सहकारीको रकम अपचलन सम्बन्धीको विषय  अहिले पनि कायमै छ।
पीडितले रकम प्राप्त गरेका छैनन् र रकम अपचलन सम्बन्धी विभिन्न व्यक्ति पक्राउ पर्ने क्रम जारी नै छ।
यो विषय कसरी अगाडि बढ्छ र कहिले टुंगिन्छ भन्ने अझै पनि निश्चित छैन।
यथार्थमा, मुलुकमा भ्रष्टाचार सम्बन्धी सम्पत्ति शुद्धिकरण, राजस्व अनुसन्धान ,अख्तियार  लगायतका विभिन्न निकाय छन्। ती निकायले आफ्नै ढंगले काम गर्ने अधिकार प्राप्त गर्दछन् ।तर उनीहरुले पनि स्वतन्त्र रुपमा आआफ्नै ढंगले काम गर्न नपाएको वा नसकेको भन्ने देखिन्छ।
यसका पछाडिको मूल कारण भनेको नेपालमा नीतिगत रूपमा भ्रष्टाचार गर्न सकिने प्रावधानहरू कायम छन् भनेर यससँग सम्बन्धित विज्ञहरुले बारम्बार बताउने गरेका छन्।
ती नीतिगत व्यवस्थाहरू के हुन्? त्यसलाई कसरी संशोधन र परिमार्जन गर्न सकिन्छ?र देशलाई विधिको शासनमा रूपान्तरण गर्न सकिन्छ, यस बारेमा राजनीतिक नेतृत्व मौन छ।
राजनीति गर्नेहरूको आफ्नो कुनै निश्चित पेशा, व्यवसाय वा आयआर्जनको बाटो छैन। तर उनीहरुले विलासीपूर्ण जीवन बिताइरहेका छन् ।यो सबैका निम्ति लागू नभएको होला।तर  प्रायको जीवन यस्तै देखिन्छ।
यसको अर्थ, सांसद भएपछि, मन्त्री भएपछि गरिब बन्नुपर्छ ,कमजोर बन्नुपर्छ भन्ने होइन। देशको समग्र विकाससँगै सबै नागरिकको उस्तै प्रकारको आयआर्जनको अवस्था हुनुपर्छ र सोही अनुरूपको सुधार हुनुपर्छ। यसले देशको समृद्धि, विकास र परिवर्तनलाई बलियो बनाउँछ र लोकतान्त्रिक गणतन्त्रको जग पनि मजबुत बनाउँछ।
देशमा सुशासन नभएको कारणले गर्दा केन्द्रदेखि स्थानीय तहसम्म सर्वसाधारणलाई काम गर्न विभिन्न प्रकारका कठिनाइ भइरहेका कुराहरू बारम्बार आउने गर्दछन्। लोकतान्त्रिक गणतन्त्र प्राप्त भइसकेको  यतिका वर्ष बितिसक्दा पनि एक प्रकारले विधिको शासन स्थापित भइसक्नुपर्ने थियो। यो विधिको शासन स्थापित नहुँदा यस प्रकारका समस्या देखा परेका छन्।
त्यसैले लोकतान्त्रिक गणतन्त्र अझै पनि मजबुत बन्न सकेको छैन। यसका मूल नेतृत्वकर्ताले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने सन्दर्भमा अझै गर्नुपर्ने धेरै काम बाँकी नै छन्।
एउटा सरकार बनेपछि त्यो सरकारलाई गिराउने खेल तुरुन्तै आरम्भ हुन्छ। यो लोकतान्त्रिक परम्परा होइन। यसले लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउँदैन। एउटा सरकार बनिसकेपछि उसले कम्तिमा आफ्नो अवधिसम्म काम गर्न पाउने पद्धतिको विकास गर्नुपर्यो। यसका निम्ति निर्वाचन प्रणालीमा खराबी छ? वा के कुरामा खराबी छ ?त्यसको समाधान गरी अगाडि
बढ्नुपर्नेमा यहाँ एकआपसमा गालीगलौज र आरोप प्रत्यारोप मात्रै बढी हुने गरेको छ।
यसैको पृष्ठभूमिमा पछिल्लो समयमा २०८१ चैत्र १५ गते काठमाडौँको तिनकुनेमा राजा समर्थित राजनीतिक शक्तिले
आफ्नो शक्ति प्रदर्शन गर्ने प्रयास गरे। यो प्रयास गर्दा अनाहकमा दुईजना सर्वसाधारणको ज्यान गयो। कैयौँ घाइते भए। यो दुर्भाग्यपूर्ण घटना निम्तिन पुग्यो। यसको पछाडि मूल कारण लोकतान्त्रिक गणतन्त्रका नायकहरुले आफ्नो प्रवृत्तिमा सुधार नगरेकाले निम्तिएको कुरालाई स्वीकार्नु पर्छ। उनीहरूले यो व्यवस्थालाई सबल र सक्षम बनाउन सकेको भए यस प्रकारको प्रवृत्तिले उठ्न पाउने सम्भावना थिएन।
यस प्रकारका घटनाक्रमबाट लोकतान्त्रिक गणतन्त्रका नायकहरूले सिक्नुपर्छ र आफूलाई रूपान्तरण गर्नुपर्दछ। यदि आफूलाई रूपान्तरण नगर्ने हो भने नागरिकमा बढ्दै गरेको राजनीतिक
वितृषा फेरि अर्कै रूपबाट प्रकट नहोला भनेर भन्न सकिन्न।
त्यसैले अहिलेको बदलिँदो परिस्थितिमा हरेकले आफ्नो प्रवृत्तिमा सुधार ल्याउनुपर्नेछ। राजनीतिक नेतृत्वले आफ्नो प्रवृत्तिमा सुधार ल्याउने प्रयासको थालनी गर्ने हो भने यो प्रवृत्ति केन्द्रदेखि स्थानीय तहसम्म लागू हुन सक्छ।
यसले एउटा नयाँ स्वरूप प्रदान गर्न सक्छ ।नयाँ उत्साह ,प्रेरणा र ऊर्जा ल्याउन सक्दछ।
त्यसैले, राजनीतिक प्रवृत्तिमा सुधार गरेर नेपालको समग्र विकासका निम्ति एकआपसमा सहमति र सल्लाह गरेर के गर्दा यो देशको उन्नति ,प्रगति र समृद्धि हुन सक्छ ?यस विषयमा सबै पक्ष गहन र जिम्मेवार हुन आवश्यक छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments