सेवा सञ्चार

SewaSanchar.com : खबरको विश्वासिलो केन्द्र

नेपाल इराकसँग पराजित

काठमाडौं । नेपालविरुद्धको मैत्रीपूर्ण फुटबलमा घरेलु टोली इराकले फराकिलो जित आत्मसाथ गरेको छ ।

शनिबार राति बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालमाथि फराकिलो जित हासिल गर्ने क्रममा इराक ६-२ गोल अन्तरले विजयी भएको छ ।

एसियाकै बलियो टिमको रुपमा रहेको इराकविरुद्ध नेपालका मनिष डाँगीले १ गोल गर्दा एक गोल उपहार स्वरुप प्राप्त गरेको थियो । पहिलो हाफ भित्र ४-२ को अग्रता बनाएको इराकले दोस्रो हाफमा थप दुई गोल थपेको थियो ।

खेलको सातौं मिनेटमा घरेलु टोली इराकले सुरुवाती अग्रता बनाएको थियो । टिमका लागि सुरुवाती अग्रता कप्तान अला अब्दुल जहर खासिनले दिलाएका थिए । उनले उक्त गोल फ्रीकिकमार्फत गरेका थिए । तर त्यसको एक मिनेटपछि नेपालले बराबरी गोल फर्काएको थियो ।

अन्जन विष्टले प्रहार गरेको बललाई क्लियर गर्ने क्रममा इराकका अहमद इब्राहिमबाट आत्मघाती गोल हुन् पुगेको थियो ।

यसरी सुरुवाती अवस्थामै रोमान्चक बन्न पुगेको खेलमा नेपालबाट अन्तर्राष्ट्रिय डेब्यु गरेका मनिषले खेलको ३० औं मिनेटमा टिमका लागि दोस्रो गोल गर्दा खेलले थप रोचक मोडमा पुगेको थियो । उनले इराकी गोलकिपर अघि बढेको अवस्थामा पेनाल्टी क्षेत्र नजिकबाट सानदार गोल गरेका थिए ।

त्यसपछि खेलको ३८ औं मिनेटमा इराकका मोहम्मद अब्दुलझाराले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए । खेल बराबरीमा चल्दै गर्दा इराकले ४० औं मिनेटमा तेस्रो र पहिलो हाफको इन्जुरी समयमा चौथों गोल गरेको थियो । उक्त दुबै गोल एमेन हुसेनले गरे ।

यसरी पहिलो हाफ भित्र ४-२ को अग्रता बनाएको इराकले दोस्रो हाफमा थप दुई गोल थप्यो । जस अन्तर्गत इराकले खेलको ६८ औं मिनेटमा पाँचौ गोल गर्यो । उक्त गोल मोहम्मद अलिले गर्दा खेलको ७४ औं मिनेटमा सज्जाद जसिमले इराकका लागि छ्ठौं गोल गरेका थिए ।

इराकसँगको यो मैत्रीपूर्ण खेल खेलिसकेपछि अब नेपाल कुवेत प्रस्थान गर्नेछ । नेपालले कुबेतमा रहेर विश्वकप र एसियन कपको छ्नोटको बाँकी तीन खेल खेल्नेछ । जस अन्तर्गत नेपालले जुन ३ मा चाइनिज ताइपे,जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियाको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्