सेवा सञ्चार

SewaSanchar.com : खबरको विश्वासिलो केन्द्र

विराटनगरलाई हराउँदै काठमाडौं प्ले अफमा

काठमाडौं । गोलको वर्षा भएको खेलमा विराटनगर एफसीलाई हराउँदै काठमाडौं रेजर्स नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा स्थान पक्का गर्न सफल भएको छ ।

प्ले अफ स्थान पक्का गर्ने क्रममा काठमाडौंले बिहिबार विराटनगरलाई ५-४ गोल अन्तरले पराजित गर्यो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा रोमान्चक जित हासिल गर्ने क्रममा काठमाडौंका क्यामरुनी खेलाडी मेसौके ओलुमोउको ह्याट्रिक पूरा गरे ।

यस्तै टिमका लागि बाँकी गोल स्टेफन विनोङ समिर र छिरिङ गुरुङले गरे । यता विराटनगरको तर्फबाट पेड्रो मान्जीले दुई तथा एडेलाजा सोमेडे र कप्तान रन्जित धिमालले १-१ गोल गर्न सफल भए ।

निकै रोमान्चक बनेको खेलमा खेलको पाँचौ मिनेटमा एडेलाजा सोमेडेको गोलमार्फत विराटनगरले सुरुवाती अग्रता कायम गरेको थियो । त्यसपछि विराटनगरले खेलको ३३ औं मिनेटमा दोस्रो गोल गर्न सफल भयो । टिमको अग्रता दोब्बर बनाउँने क्रममा विराटनगरका पेड्रो मान्जीले दोस्रो गोल गरेका थिए ।

त्यसको २ मिनेटपछि काठमाडौंले पनि गोलको सुरुवात गर्यो । मेसौके ओलोउमोउले टिमको लागि पहिलो गोल गरे । लगत्तै अर्को मिनेटमा उनै मेसौके ओलोउमोउले दोस्रो गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए ।

त्यसपछि ४१औं मिनेटमा स्टेफेनले गोल गर्दै काठमाडौंलाई ३–२ को अग्रता दिलाए । पहिलो हाफमा ३-२ को अग्रता बनाएको काठमाडौंले खेलको ६७ औं मिनेटमा चौथों गोल गर्यो । उक्त गोल मेसौके ओलोउमोउले गरेका थिए । योसँगै उनि जारी प्रतियोगितामा ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी समेत भएका छन् ।

त्यसपछि भने विराटनगरका कप्तान रन्जित धिमालले टिमका लागि तेस्रो गोल गर्दा खेल थप रोमान्चक हुन् पुग्यो । उनले खेलको ७८ औं मिनेटमा टिमका लागि तेस्रो गोल गरेका थिए । तर ८३ औं मिनेटमा काठमाडौंका छिरिङ गुरुङले टिमका लागि पाँचौं गोल गरेसँगै काठमाडौंलाई ठूलो राहत मिलेको थियो। अन्ततः सोहि गोलनै निर्णायक हुन् पुग्यो । तर विराटनगरले पनि अत्यसम्म काठमाडौंलाई टक्कर दिईरह्यो । सोहि अनुरुप खेलको अत्य तिर इन्जुरी समयमा विराटनगरका पेड्रो मान्जीले टिमका लागि चौथों गोल गरे।

खेलको इमर्जिङ खेलाडी काठमाडौं रेजर्सका विश्वास श्रेष्ठ घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे । यस्तै खेलको प्लेयर अफ द म्याच काठमाडौंकै मेसौके ओलोमेउ घोषित भए । उनले २५ हजार रुपैयाँ हात पारे ।

जितसँगै काठमाडौं प्ले अफ पुग्ने दोस्रो टोली बनेको छ । यसअघि धनगढीले प्ले अफ स्थान पक्का गरिसकेको छ । ५ खेल खेलेको काठमाडौंको अहिले अंकतालिकामा १० अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा धनगढी रहेको छ । यता काठमाडौंसँग पराजित हुन् पुगेको विराटनगरको पनि प्ले अफ सम्भावना अझै यथावतनै रहेको छ । ७ अंक जोडेर विराटनगर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्