सेवा सञ्चार

SewaSanchar.com : खबरको विश्वासिलो केन्द्र

प्रदेश ५ को राजधानी भालुबाङ राख्ने प्रदेश सरकारको निर्णयमा कांग्रेसका ६ सांसदको समर्थन

दाङ (सेवा सञ्चार ) । प्रदेश सरकारले दाङको भालुबाङलाई प्रदेश ५ को राजधानी तोक्ने निर्णय प्रदेश संसदमा लग्ने तयारी गर्दै गर्दा कांग्रेसका ६ सांसदले प्रदेश सरकारको निर्णयलाई साथ दिने बताएका छन् ।

उनिहरुले सोमबार प्रदेश संसदमा भालुबाङका लागि मतदान गर्ने बताएका छन् । जसमा दाङका डिल्ली चौधरी , संकर गिरी , अर्जुन श्रेष्ठ , प्रमुख सचेतक समेत रहेका बाँकेका सुरेन्द्र हमाल तथा बाँकेकै याकुव अन्सारी र बर्दियाका भुवनेश्वर चौधरी रहेका छन् ।

स्मरणीय रहोस् प्रदेश ५ मा कांग्रेसबाट कुल १९ सांसद रहेका छन् । अन्य बाँकी सांसद भने बुटबललाई राजधानी तोकिनु पर्ने पक्षमा रहेका छन् ।

यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) ले भने आफ्नो सबै सांसदलाई भालुबाङका लागि मतदान गर्न ह्विप समेत जारी गरेको छ । तर रुपन्देही आसपासका केही सांसदहरु भने पार्टीको निर्णयबाट असन्तुष्ट देखिएका छन् ।

प्रदेश ५ मा नेकपाका ६१ सांसद रहेका छन् । यस्तोमा प्रदेशको राजधानी र नामाकरणका लागि संसदमा दुई तिहाई अर्थात कुल ५८ सांसदको समर्थनको आवस्यक पर्ने हुन्छ ।

अन्य जिल्लाहरुले प्रदेश सरकारको निर्णयलाई स्वागत गरिरहदा रुपेन्देहीको बुटवलमा भने कांग्रेस र नेकपाकै केही नेता कार्यकर्ता पार्टीको निर्णय विपरित विरोधमा उत्रिएका छन् ।

यसरी विरोध चल्दै गर्दा पनि भालुबाङलाई राजधानी र प्रदेशको नाम लुम्बिनी नामाकरण गर्न प्रदेश संसदमा प्रयाप्त सांसदको समर्थन पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्